झापा । भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा एक दर्जनभन्दा बढीको मृत्यु हुनेगरी भागदौड मच्चिएपछि नेपालका धेरै भक्तजनहरु अलपत्र परेका छन् ।
महाकुम्भ मेलामा भएको भागदौडमा दर्जनौँ मानिसहरू घाइते भएका छन् । भागदौडमा नेपाली भक्तजनहरु परेको बताइएपनि के कति परे भनेर यकिन भइसकेको छैन ।
सो घटनापछि धेरै नेपालीहरु अलपत्र परेका छन् । महाकुम्भ मेला जाँदै गरेका बिर्तामोड १ का झलकसिंह राजवंशीसहितको १८ जनाको टोली बीच बाटोमा अलपत्र परेको छ ।
महाकुम्भ मेला पुग्न ८० किलोमिटर बाँकी रहेको औराही भन्ने ठाउँमा आफूहरु अलपत्र परेको राजवंशीले बताए । भागदौड भएपछि मेलातर्फ जान नदिएको उनले बताए । सो घटनापछि धेरै भक्तजनहरु मेलाबाट फिर्न थालेका छन् । धेरैजना एकैचाटी फिर्दा सडकजाम भएको जनाइएको छ ।
बीबीसीका अनुसार भागदौडमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । त्यसक्रममा दर्जनौँ मानिसहरू घाइते भएका छन् ।
मंगलवार राति करिब २ बजेतिर मेलामा भागदौड मच्चिएको थियो ।
सार्वजनिक भएको एक ड्रोन फुजेटमा लाखौँ भक्तजनहरू देखिन्छ । उनीहरू उज्यालो भएपछि पवित्र स्नान गर्ने गरी अघि बढिरहेका थिए । आज महाकुम्भ मेलाको सबैभन्दा शुभ दिन मानिन्छ ।
त्यही कारण भक्तजनहरू मंगलबारदेखि नै स्नानका लागि लाइनमा थिए । कुम्भ मेलामा हिजो करिव तीन करोड भक्तालुले स्नान गरेको जनाइएको छ ।