काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज शहीदहरूले देखेका सपना र लिएको अठोटलाई पूरा गर्न संकल्प गर्ने दिन भएको बताएका छन् ।
प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ ।
‘माघ १६ नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान र स्मरण गर्ने दिन हो,’ शहीद दिवसका सन्दर्भमा सन्देश जारी गर्दै उनले भनेका छन्, ‘देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदहरूले देखेका सपना र लिएको अठोटलाई पूरा गर्न संकल्प गर्ने दिन हो ।’
राज्यकै तहबाट शहीद दिवस मनाइरहँदा शहीदहरुको योगदानको कदर गर्दै शहीद परिवारहरुको उचित सम्मान, संरक्षण र अभिभावकत्व दिनुमा नै शहीदहरुप्रतिको सच्चा सम्मान हुने उनको भनाइ छ ।
नेपालका प्रथम शहीद लखन थापामगरदेखि जहाँनिया राणाकालविरुद्धको आन्दोलन, विसं २००७ को परिवर्तन, जनविद्रोह, जनआन्दोलन, पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण सशस्त्र आन्दोलन र विभिन्न संघर्षको बलमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न सम्भव भएको उल्लेख गरेका छन् । अध्यक्ष दाहालले त्यसलाई विसं २०७२ मा जारी संविधानले संस्थागत गरेको जनाएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि संविधानको इमानदारितापूर्वक कार्यान्वयन गर्न शहीद दिवसले सबैलाई प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरेका छन् ।
उनले देश र जनताको हक अधिकारका लागि विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलनमा जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै बेपत्ता योद्धाहरुप्रति सम्मान प्रकट गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।