२०८१ माघ १७, बिहिवार , ०९:४०:१५ बजे

Sajhamanch
'

झापाका ५५ हजार किशोरीलाई एचपीभी विरुद्धको खोप लगाइने

बुधवार, माघ १६, २०८१

भद्रपुर । झापामा ५५ हजार बालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइने भएको छ ।

एचपीभी खोप अभियानबारे सञ्चारकर्मीसँगको अन्तरक्रियामा जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार ९९९ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।

पहिलो चरणमा खोप अभियान शुरु हुन लागेको बताउँदै उनले अर्को वर्ष सबै स्वास्थ्य चौकीबाट पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने जानकारी दिएका छन् । क्यान्सर लागेको लामो समयपछि मात्र थाहा हुने भएकाले परीक्षण अनिवार्य गर्नुपर्ने उनले प्रष्ट्याएका छन् ।

माघ २२ गतेदेखि २९ गतेसम्म झापा जिल्लाभर सञ्चालन हुने यो अभियानमा कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने तय गरिएको छ ।

झापामा एचपीभी खोप अभियानका लागि ७५५ खोप केन्द्र, ७८१ जना स्वास्थ्यकर्मी र एक हजार ५१५ जना स्वयम्सेविका परिचालन गरिएको छ । ७५५ खोप केन्द्रमध्ये ५५७ विद्यालय, १४० स्वास्थ्य संस्था र ४० वटा बाह्य केन्द्र रहने कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक चार जनाको मृत्यु हुने गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तनपछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनि दुई हजार १६९ जना हुने गरेको जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले प्रस्तुतीकरण दिँदै तीमध्ये ६१ प्रतिशत अर्थात् एक हजार ३१३ जनाको बर्सेनि मृत्यु हुने गरेको जानकारी दिए ।

ह्युमन पापिलोमा भाइसर एचपीभीको दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक रहेका छन् । झापामा माघ २२ गतेदेखि २९ गतेसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य करक एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले सन् २०३० सम्ममा यो रोग निवारणको लागि एकीकृत रूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिस गरेअनुसार नेपाल सरकारले १० वर्षदेखि १४ वर्षसम्मको किशोरीलाई खोप लगाउने, ३० देखि ३९ वर्षका महिलाको क्यान्सर परीक्षण र पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाको उपचार गर्ने तीन वटै सेवाको ‘कभरेज’ कम्तिमा ९० प्रतिशत हासिल गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख बाराकोटीले बताए ।

“विश्व स्वास्थ्य संगठनले यो रोगलाई जनस्वास्थ्य समस्याको रुपमा नरहेको अवस्थामा पुर्याएर निवारण गर्ने लक्ष्य लिएको छ” बाराकोटीले भने, “नेपालमा पाठेघरको मुखको क्यान्सर रोकथामको रणनीति अनुसार यो रोगको नयाँ बिरामी प्रति एक लाख महिलाहरूमा प्रतिवर्ष चार भन्दा कम संख्यामा सीमित राख्ने लक्ष्य रहेको छ ।”

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बारोकाटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खोप अधिकृत राजकुमार पोखरेलले गरेका थिए ।

सम्बन्धित खबर