२०८१ माघ १६, बुधवार , ०५:४१:५५ बजे

Sajhamanch
'

नेपालमा पाठेघरको क्यान्सरले दैनिक चार जनाको मृत्यु

मङ्गलवार, माघ १५, २०८१

झापा । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ ।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार १६९ जनालाई हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । तीमध्ये ६१ प्रतिशत अर्थात् एक हजार ३१३ जनाको बर्सेनी मृत्यु हुने गरेको उनले बताए ।

ह्युमन पापिलोमा भाइरस (एचपीभी) को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन् । जिल्लामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको छ ।

खोप अभियान अन्तर्गत जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार ९९९ छात्रा तथा किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा एचपीभी खोप अभियानका लागि ७५५ खोप केन्द्र, ७८१ जना स्वास्थ्यकर्मी र एक हजार ५१५ जना स्वयम्सेविका परिचालन हुनेछन् ।७५५ खोप केन्द्रमध्ये ५५७ विद्यालय १४० स्वास्थ्य संस्था र ४० वटा बाह्य केन्द्र रहनेछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्यूएचओ)ले सन् २०३० सम्ममा यो रोग निवारणका लागि एकीकृतरूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिस गरेअनुसार नेपाल सरकारले १० देखि १४ वर्षसम्मको किशोरीलाई खोप लगाउने भएको हो ।

गत आर्थिक वर्ष २०८०र०८१ मा सात वटै प्रदेशका १० हजार बालिकालाई एचपीभी खोप लगाइएको थियो । विश्व स्वास्थ्य संगठनकाअनुसार महिलामा हुने क्यान्सरमध्येमा पाठेघरको मुखमा हुने क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा देखिएको छ ।

विश्वमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने यो रोगबाट हरेक वर्ष तीन लाख ११ हजार (५५ प्रतिशत) महिलाको मृत्यु हुने गरेको छ ।

सम्बन्धित खबर