![](https://sajhamanch.com/wp-content/uploads/2025/01/मेचीनगर-नगरपालिका-दोस्रो-नगर-सभाको-छैटौं-अधिवेशन-शुरु.jpg)
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको दोस्रो नगर सभाको छैटौं अधिवेशन सोमबारबाट शुरु भएको छ ।
नगरपालिकाको सभाहलमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै बैठकका कार्यसूचीहरू प्रस्तुत गरे पछि उपप्रमुख मीना पोख्रेल उप्रेतीले वित्तीय विवरण प्रस्तुत गरेकी छन् ।
उपप्रमुख उप्रेतीले दोस्रो नगरसभाको पाँचौ अधिवेशनबाट आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत गरेको नीति, कार्यक्रम तथा बजेटको हालसम्मको स्थितिको संक्षिप्त जानकारी गराइन् ।
चालू आर्थिक वर्ष २०८१/०८२ को लागि कूल अनुमानित आय २ अर्ब १५ करोड ७० लाख २५ हजार १९३ रुपैयाँ मध्ये चालू तर्फ ९३ करोड ७८ लाख ४६ हजार ९१९ एवम् पूँजीगत तर्फ १ अर्ब २१ करोड ९१ लाख ७८ हजार २७४ विनियोजन भएको उपप्रमुख उप्रेतीले हलसमक्ष जानकारी गराइन् । अनुमानित आयतर्फ माघ १३ गतेसम्म नगरले करिब ९२ करोड ९ लाख ६६ हजार आम्दानी गरेको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।
त्यस्तै उनले नेपाल सरकार समानीकरण अनुदानतर्फ १२ करोड ४७ लाख ५० हजार, नेपाल सरकार सशर्त अनुदान चालूतर्फ २७ करोड ६२ लाख ५२ हजार, नेपाल सरकार सशर्त अनुदान पूँजीगत तर्फ १७ करोड ८७ लाख ३८ हजार, स्थानीय राजश्व बाँडफाँड तर्फ १ करोड ६ लाख ४५ हजार, संघीय राजश्व बाँडफाँड अन्तर्गत मूल्य अभिवृद्धि करतर्फ ६ करोड १५ लाख ४ हजार, अन्तःशुल्क तर्फ १ करोड १७ लाख १७ हजार, आन्तरिक स्रोततर्फ ७ करोड ८२ लाख ८३ हजार तथा अघिल्लो आर्थिक वर्षको मौज्दात १९ करोड १९ लाख ६१ हजार आम्दानी भएको छ । जुन प्रस्तावित आयको ४२ दशमलव ६९ प्रतिशत रहेको उपप्रमुख उप्रेतीले बताइन् ।
व्ययतर्फ हालसम्म संघीय सरकार समानीकरण अनुदानतर्फ २ करोड २२ लाख ४७ हजार, संघीय सरकार सशर्त अनुदान चालु तर्फ २० करोड ३ लाख ८ हजार, संघीय सरकार सशर्त अनुदान पूँजीगत तर्फ १० करोड ७१ लाख २९ हजार, स्थानीय राजश्व बाँडफाँड तर्फ ५८ लाख ६२ हजार, संघीय राजश्व बाँडफाँड तर्फ २ करोड ७२ लाख ५८ हजार तथा आन्तरिक स्रोततर्फ ११ करोड १६ लाख ७७ हजार खर्च भएको छ । जसमध्ये कूल चालू खर्चतर्फ ३२ करोड ९ लाख २३ हजार ८३ अर्थात ३४ दशमलब २२ प्रतिशत र पूँजीगत तर्फ १५ करोड ३५ लाख ६१ हजार ७ सय ९६ अर्थात १२ दशमलब ६ प्रतिशत गरी कूल खर्च जम्मा ४७ करोड ४४ लाख ८४ हजार ८७९ रहेको छ । जुन २१ दशमलब ९९ प्रतिशत रहेको राजस्व परामर्श समितिका संयोजक समेत रहेकी उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।
नगरसभामा विषयगत संयोजक मार्फत अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक विकास समितिका संयोजक तिलजा देवान, सुशासन तथा क्षमता विकास समितिका संयोजक माया प्याकुरेल, पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक गुणराज भट्टराई, विधेयक समिति सदस्य मीनमाया सुब्बा, लेखा समिति संयोजक कविता मिजार र न्यायिक समितिका सदस्य कुन्दन निरौलाले आआफ्नो विषयगत समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आज प्रस्तुत विभिन्न प्रतिवेदन अध्ययन गरी आआफ्नो विचार र धारणा प्रस्तुत गर्नका लागि अर्को बैठक माघ २५ गते बोलाइएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत एवम नगरसभाका सचिव अग्निप्रसाद अधिकारीले सभा सञ्चालनको विधिका विषयमा जानकारी गराएका थिए । सभामा नगरका १५ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।