काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि (मंगलबार) बिहान ११ बजे बस्नेगरी सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
‘भोलि ११ बजे हामीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छौं । भोलिको बैठकमा हामी के के निर्णय गर्ने भन्नेबारे पनि छलफल हुन्छ,’ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।
उनका अनुसार माघ १८ गतेदेखि ३० गतेसम्म बस्ने संसद् बैठकको क्यालेन्डर पनि तयार पारिएको छ । विधेयक निर्माण र राष्ट्रिय नीतिबारे बहस गर्नका लागि महत्त्वपूर्ण बनाउनेगरी आजको बैठकमा छलफल भएको उनले बताए ।
संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ । उक्त दिन प्रधानमन्त्री लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सोही दिन सरकारले ल्याएका अध्यादेशहरू संसद्मा पेस हुने र २२ गते बस्ने बैठकमा निर्णयार्थ पेस हुने पनि बर्तौलाले जानकारी दिए ।