शिवसताक्षी । झापाको शिवसताक्षीमा फार्मलिन प्रयोग गरिएको माछा जफत गरिएको छ । शिवसताक्षी नगरपालिकाको अनुगमन टोलीले शिवसताक्षी ६ स्थित शिवगञ्ज बजारबाट विषादीयुक्त फार्मलिन प्रयोग गरिएको माछा जफत गरी नष्ट गरेको हो ।
नगरपालिकाको टोलीले बजारमा बेच्न राखेको भेटाएपछि ४४ केजी माछा जफत गरी खाल्डो खनेर गाडेको नगरपालिकाका उपप्रमुख तथा अनुगमन टोलीका संयोजक नरमाया कार्कीले बताइन् ।
अनुगमनका लागि उपप्रमुख कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, राजश्व शाखा प्रमुख विमल बाँस्कोटा, शिवगञ्ज प्रहरी, नगर प्रहरी लगायतको टोली गएको थियो । शिवगञ्ज बजारका तीनवटा पसलबाट उक्त परिमाणको माछा जफत गरेको थियोे ।
जफत गरिएको माछालाई नगरपालिका कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । उनले नगरका आम नागरिकहरु भारतबाट आयातित फार्मालिनयुक्त माछाले मानव स्वास्थ्यमा गम्भिर असर परेको गुनासो आएपछि नगरपालिकाले त्यस्ता माछा बेचबिखनमा कडाई गरेको जानकारी दिइन् ।
“स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सरजस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले जानकारी दिइन् ।
उनले भनिन् “माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई यसअघि नै सूचित गरेका थियौं । तर उहाँहरुले बेचबिखन गर्न रोक्नु भएन, त्यसैले आज जफत गरेका हौं ।
नगरपालिकाले गएको माघ १० गते एक सूचना जारी गर्दै फर्मालिन रसायन प्रयोग गरिएको माछा बेचविखनमा रोक लगाएको थियो । नगरपालिकाले हाट बजार तथा अन्य बजारहरुमा समेत दैनिक अनुगमन गर्ने जनाएको छ ।