शिवसताक्षी । शिवसताक्षीमा २८६१औं डुल्लु सोनाम ल्होसार मनाइने भएको छ। नेपाल तामाङ घेदुङ शिवसताक्षीको आयोजनामा आगामी माघ १७ गतेदेखि १९ गतेसम्म शिवसताक्षी ११ झिलझिलेस्थित टाँसी धार्गेलिक गुम्बामा मनाइने भएको हो ।
नेपाल तामाङ घेदुङ संघ शिवसताक्षीले आज पत्रकार सम्मेलन गर्दै विभिन्न झाँकीसहित सास्कृतिक कार्यक्रमको आयोजना गरेर सोनाम ल्होसार पर्व मनाइने जानकारी गराएको हो ।
कार्यक्रममा तामाङ समुदायका भेषभुषा प्रर्दशन गर्ने, राष्ट्रिय कलाकारबाट सांगीतिक प्रस्तुति रहनेसमेत बताइएको छ ।
झापा जिल्लाको बिर्तामोड र दमकबीचको क्षेत्रलाई समेटेर डुल्लु सोनाम ल्होसार पर्व मनाउने नेपाल तामाङ घेदुङ संघ शिवसताक्षीका अध्यक्ष नविन मोक्तानले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष मोक्तानले बताए । उनले भने, केही रकम नगरपालिकाबाट प्राप्त भएको छ । स्थानीय व्यवसायी, तामाङ्ग समुदाय, वैदेशिक रोजगारीमा गएको साथीहरुबाट सहयोगको अपेक्ष गरिएको छ ।
माघ १७ गते शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले कार्याक्रमको उद्घाटन गर्नेछन् । कार्यक्रमको समापन भव्य हुने आयोजकले जनाएको छ ।
लामो समयदेखि यस क्षेत्रमा छरिएर रहेका तामाङ्ग समुदायहरुले मनाउँदै आएको डुल्लु सोनाम ल्होसार यसवर्ष बृहत रुपमा मनाइने टाँसी धार्गेलिङ बौद्ध गुम्बाको अध्यक्ष डिके लामाले बताए ।
उनले कार्यक्रममा सम्पूर्ण तामाङ समुदाय र अन्य सबै जातजाति, समुदायहरुलाई समेत उपस्थितिका लागि अनुरोध गरेका छन् । कार्यक्रममा टाँसी धार्गेलिङ बौद्ध गुम्बाको व्यवस्थापन रहने बताइएको छ ।
उहिले पात्रोको चलन नहुँदा तामाङ समुदायमा १२ वर्षको अवधिलाई १२ पशु पन्छी वर्षका रुपमा आत्मसात् गर्दै समयको मापन गर्दथे । घडीको साटो आकाशमा सूर्यको गति र अवस्था हेरेर समय र काल चाल पाँउथे । त्यसै बेलादेखि ल्होसार मनाउने परापूर्व आधारहरु खडा भएका हुन् ।