२०८१ माघ १३, आइतवार , ०९:०५:४७ बजे

Sajhamanch
'

मेची आँखा अस्पतालले अपाङ्गता भएका ब्यक्तिहरुको निःशुल्क उपचार गरिदिने

शनिवार, माघ १२, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुको मेची आँखा अस्पताल मार्फत निःशुल्क उपचार गरिदिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ झापाको दोस्रो जिल्ला अधिवेशन उद्घाटन पछि आफ्नो मन्तब्यका क्रममा गुरुङले सो प्रतिवद्धता गरेका हुन् ।

सो कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले अपाङ्गता भएका ब्यक्तिहरुको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

सभापति थेवेले पार्टीको विधान पूर्ण समावेशी रहेको, अपाङ्गता भएका ब्यक्ति तथा हरेक जातजाति, लिङ्गका लागि कोटा छुट्याइएको जिकिर गरे ।

उनले पार्टीले पूर्ण समावेशी नीति अवलम्बन गरेको तर सरकारले अपाङ्गता भएका ब्यक्तिहरुका समस्या पूर्ण समाधान गर्न नसकेको भन्दै समस्या समाधान, सहभागिता र अपाङ्गमैत्री भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गरेका हुन् ।

सो कार्यक्रमका अर्का वक्ता कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाईले आर्थिक र शारीरिक मापदण्डका आधारमा आरक्षण दिने ब्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ झापाका अध्यक्ष गंगाप्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय प्रतिनिधि एवं संघका केन्द्रीय सदस्य धर्मराज घिमिरेले शाब्दिक स्वागतसहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन जयकुमार दाहालले गरेका थिए ।

संघको दोस्रो अधिवेशनले पुनः गंगाप्रसाद संग्रौलाकै अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरेको छ । संघको उपाध्यक्षमा भक्तबहादुर परियार, सचिवमा दिपक थापा, सहसचिवमा मदन ढकाल र कोषाध्यक्षमा अम्बिका पोखरेललाई चयन गरेको जनाइएको छ ।

सर्वसम्मत रुपमा गठित समितिका सदस्यहरुमा निलादेवी भट्टराई, पिताम्बर खड्का, अनितासिंह क्षेत्री, सोम न्यौपाने, जनार्दन न्यौपाने, तारा रणपहेली, रामा कामती, अस्विनीकुमार काफ्ले, रविन्द्रकुमार न्यौपाने, रामराज गणेश चयन भएका छन् ।