२०८१ माघ १०, बिहिवार , ०९:३८:२३ बजे

Sajhamanch
'

बिर्तामोडमा गायत्री मन्दिरको निर्माण, १७ गतेदेखि सञ्चालन हुने

बिहिवार, माघ १०, २०८१

बिर्तामोड । बिर्तामोडमा पहिलो गायत्री माताको मन्दिर निर्माण गरिएको छ । बिर्तामोड ५ स्थित अग्रसेन भवन दक्षिणपट्टि स्थानीय दानवीर, कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो ।

२०८० साल जेठ १७ गतेबाट निर्माण शुरु भएको सो मन्दिरको लागत करिब अढाई करोड रुपैयाँ रहेको संयोजक रोनक बंशलले जानकारी दिए । मन्दिर निर्माण सम्पन्न गरिएकाले गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यही माघ २१ गते मन्दिर उद्घाटनसँगै गायत्री माताको विधिपूर्वक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक वंशलले जानकारी दिए ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माताको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलले बताए ।

माताको प्राण प्रतिष्ठा गर्नुअघि मन्दिर परिसरबाट निकालिने शोभायात्राले बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।

माघ १७ गते प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको कार्यक्रम संयोजक वंशलको भनाई छ ।

माघ १७ देखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद वितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।

भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिएका छन् ।

भिडियो सामग्री तलको लिङ्कमा ….

https://fb.watch/xi7LVDy5vN/

 

 

सम्बन्धित खबर