
झापा । झापाको कमल गाउँपालिकामा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ ।
फुटबल प्रतियोगिता आगामी माघ ११ गतेदेखि १९ गतेसम्म कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
कमल गाउँपालिकालाई खेलकुदको हब बनाउँदै लगिने नीतिअनुसार यसपटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड कमल ५ स्थित आदिवासी रङ्गशालामा, पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड कमल ३ स्थित केर्खा खेल मैदानमा र अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता कमल ५ स्थित दमक–लखनपुर भेट्रान खेलमैदानमा सञ्चालन हुने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिह राईले बताए ।
यस्ता खेलकुद प्रतियोगिताले कर्मचारीबीच सुमधुर सम्बन्ध कायम गर्न मद्दत पुग्ने भन्दै अध्यक्ष राईले अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता उत्कृष्ट रुपमा सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिँदै प्रतियोगिता जितको शुभकामना दिए ।
प्रतियोगितामा झापाका १५ वटा पालिकाका कर्मचारीहरू बीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले विगत ७ वर्षदेखि प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
प्रतियोगितामा विजयी हुने पालिकाले १ लाख रूपैया पुरस्कार, उपविजयी हुने पालिकाले नगद ५० हजार रुपैयाँ र दुवै टिमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको नकआउट चरण माघ ११ गतेदेखि १४ सम्म सञ्चालन हुनेछ भने क्वाटर फाइनल माघ १५ देखि १६ गतेसम्म हुनेछ । सेमीफाइनल चरण माघ १७ गते र फाइनल खेल माघ १९ गते हुने सहसंयोजक दिपेन्द्र लामिछानेले बताए ।
कमल गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत केशवकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले फुटबल प्रतियोगिताले कर्मचारी बीच सुमधुर सम्बन्ध कायम गर्न मद्धत पुग्ने भन्दै प्रतियोगितामा विजय हासिल गर्न आफ्ना कर्मचारीलाई शुभकामना दिइन् ।
प्रतियोगितामा प्रथम हुने पालिकाले अर्को वर्ष प्रतियोगिता आयोजना गर्नुपर्ने निर्णय अनुसार यो पटक कमल गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।


