२०८१ माघ ७, सोमवार , ०८:४७:१६ बजे

Sajhamanch
'

निर्माण व्यवसायी संघ झापाको नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार

सोमवार, माघ ७, २०८१

झापा । निर्माण व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिले आज सोमबारदेखि कार्यभार सम्हालेको छ ।

संघको सभाहलमा आयोजित पद हरुतान्तरण समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार सम्हालेको हो । संघका अध्यक्ष मिलन बस्नेतले नवनिर्वाचित अध्यक्ष रमेश अधिकारीलाई पद हस्तान्तरण गरे ।

अध्यक्ष बस्नेतको अध्यक्षता तथा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष मोहनप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सो समारोहमा निर्वाचन समितिका संयोजक गोपालबहादुर थापाले नवनिर्वाचित पदाधिकारी–सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउँदै प्रमाणपत्र हस्तान्तरण गरेपछि नवनिर्वाचित अध्यक्ष अधिकारीले समारोहको अध्यक्षता गरेका थिए ।

महासचिव पुष्पराज निरौलाले सञ्चालन गरेको समारोहमा नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रतिवद्धता मन्तव्य राखेका थिए भने अध्यक्ष बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए । प्रमुख अतिथि अधिकारी, निर्वाचन समितिका संयोजक थापा, संघका पूर्व अध्यक्ष गणेश बस्नेत र पूर्व महासचिव ओम पौडेलले नवनिर्वाचित कार्यसमितिको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा अध्यक्ष बस्नेतले आफ्नो कार्यकालका पदाधिकारी–सदस्यहरुलाई मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै, कर्मचारीको तर्फबाट कार्यालय सचिव ज्योति पौडेलले निवर्तमान अध्यक्ष बस्नेत र नवनिर्वाचित अध्यक्ष अधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए ।

गत पुस २१ र २२ गते सम्पन्न १६औं साधारणसभा तथा अधिववेशनले अधिकांश पदाधिकारी सर्वसम्मत चयन गरे पनि अध्यक्ष, सहकोषध्यक्ष र सदस्यमा निर्वाचन भएको थियो ।

अध्यक्ष पदमा अधिकारीले इञ्जिनियर प्रकाश सिंहलाई पराजित गरेका थिए भने तीन जनाले उम्मेद्वारी दिएको सहकोषाध्यक्षमा सुरेन्द्र धिमाल विजयी भएका थिए । त्यस्तै, १० जना सदस्यका लागि १५ जनाबीच प्रतिस्पर्धा भएको थियो ।