भद्रपुर । झापामा सरुवा भई आएका नयाँ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जनमैत्री प्रशासनका लागि विचौलिया र अनैतिक गतिविधि गर्ने विरूद्ध निर्मम भएर लाग्ने बताएका छन् ।
केही दिन अघि सर्लाहीबाट झापा प्रशासनको नेतृत्व सम्हाल्न आइपुगेका प्रजिअ अधिकारीले आज विकृति र विसंगति विरुद्ध निर्मम हुने बताएका हुन् ।
आफ्नै कार्यकक्षमा झापाली सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रजिअ अधिकारीले सरकारी कार्यालय अगाडि बसेर विचौलियाको भूमिका खेल्नेदेखि सडक अतिक्रमण गर्दै नियम विपरित व्यपार व्यवसाय गर्ने कार्यले सर्वसाधारणको काममा बाधा भएको गुनासो आएको छ, त्यस्ता कार्य रोक्न आफू निर्मम भएर लाग्ने बताए ।
खुल्ला सिमानाको फाइदा उठाउँदै हुने गरेका चोरी, तस्करी, लागुऔषध कारोबार जस्ता अनैतिक गतिविधि नियन्त्रणका लागि प्रहरी प्रशासन प्रतिवद्ध भएर लाग्ने पनि उनको भनाई छ । झापाका सुरक्षा निकायका प्रमुखहरू वरिपरी राखेर प्रजिअ अधिकारीले जनमैत्री कामको वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाए ।
उनले प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले दुःख नपाउने वातावरण बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिँदै विचौलियासँग साँठगाठ नगर्न सचेतसमेत गराएका छन् ।
जिल्ला प्रशासन झापाको मुख्य प्रवेशद्वारदेखि जिल्ला समन्वय समितिसम्मको सडकमै खुल्ला व्यपार हुँदा दिउँसोको समयमा सर्वसाधारणलाई आवातजावतमा समस्या छ भने कुनै पनि कार्यलयमा काम लिएर आउने सेवाग्राहीलाई सडकमा रहेका विचौलियाले तानातान गरी आफूखुसी कार्यालय प्रवेश गर्न बाधा गर्ने गरेको गुनासो सर्वसाधारणको छ ।