काठमाडौं । हप्ताको पहिलो दिन शेर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२.५८ अङ्कले बढेर २ हजार ६०१.२१ विन्दुमा पुगेको छ ।
आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज फाइनान्स र उत्पादन समूहको शेयर दुई प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
बजार दोहोरो अङ्कले बढेको दिन बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ५ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३२५ वटा कम्पनीका १ करोड २९ लाख कित्ता शेयर ६ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएको छ ।