२०८१ माघ ६, आइतवार , ११:४४:५८ बजे

Sajhamanch
'

काफ्ले बन्धु कल्याण समितिको २०औं साधारण सभाबाट केन्द्रीय समिति सर्वसम्मत

आइतवार, माघ ६, २०८१

विराटनगर । काफ्ले बन्धु कल्याण समितिको बीसौँ वार्षिक साधारण सभाले गौरादहका गोपालप्रसाद काफ्लेलाई केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। शनिबार साण्डिल्य भवन टंकी सिनुवारीमा आयोजित साधारण सभाले गोपालप्रसादको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।

समितिकाे उपाध्यक्षमा दमकका शिवप्रसाद काफ्ले र खेममणि काफ्ले विराटनगरलाई जिम्मेवारी दिइएको छ। यसैगरी सचिवमा सुन्दरहरैंचाका लोकेन्द्र काफ्ले, सहसचिवमा गौरादहका घनश्याम काफ्ले र कोषाध्यक्षमा विराटनगरका फाल्गुनी काफ्लेलाई चयन गरिएको छ।

बन्धु कल्याण समितिको केन्द्रीय सदस्यहरूमा सुन्दरहरैंचा मोरङका खगेन्द्रकुमार काफ्ले, बुढीगंगा मोरङका मातृका काफ्ले, संखुवासभाका छत्रमणि काफ्ले, टंकी सिनुवारी मोरङका सुधा काफ्ले, भोजपुरका राधा काफ्ले, टंकी सिनुवारी मोरङका मिना काफ्ले, झापा दमकका भुवानीप्रसाद काफ्ले, इटहरी सुनसरीका टङ्क काफ्ले, सुनसरी रामधुनीका कमलप्रसाद काफ्ले, सुनसरी खनारका फडिन्द्र काफ्ले र झापा गौरादहका भवानी काफ्लेलाई चयन गरिएको छ।

काफ्ले बन्धु कल्याण समितिका अध्यक्ष देवीप्रसाद काफ्लेको अध्यक्षता तथा जग्गादाता गणेशप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा आयोजित बीसौँ साधारण सभामा समितिको तर्फबाट तयार गरिएको प्रतिवेदन केन्द्रीय सदस्य लोकेन्द्र काफ्लेले वाचन गरेका थिए । उक्त प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत पारित गरिएको छ।

काफ्ले समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा संरक्षक गुणराज काफ्लेको विशिष्ट आतिथ्यमा तुलसीको मोठमा पानी सिञ्चन गरी समुद्घाटन गरिएको सो साधारण सभामा उनले बन्धुहरूबीच कार्यगत एकता गरी काफ्लेहरु बीचको भातृत्व स्थापित गर्न आग्रह गरे। अहिले पूर्वमा काफ्ले समाज सक्रियतापूर्वक काम गरिरहेको र बन्धु कल्याण समिति पनि सोही कार्यमा क्रियाशील रहेकाले दुवै बन्धु समाजको एकता अनिवार्य बनिसकेको आवश्यकता औल्याएका थिए।

फुटेर होइन जुटेर एकत्रित भावनाबाट काम गर्न सक्यो भने बन्धुहरूलाई आइपर्ने अप्ठ्याराहरूमा सहजीकरण गर्न बन्धु समाज सक्षम हुने उनको भनाइ थियो ।


सो साधारण सभामा काफ्ले समाज झापा जिल्ला कार्यसमितिका अध्यक्ष गोपाल काफ्लेले काफ्ले नामको नदीको दुई किनारा जसोगरी काफ्ले समाज र बन्धु कल्याण समिति अलग अलग बाटोमा हिँड्न नसक्ने औल्याएका थिए।

सबै बन्धुहरूको भावना सम्बोधन हुनेगरी काफ्ले समाज र काफ्ले बन्धु कल्याण समितिको एकीकरण आजको अपरिहार्य आवश्यकता हो भन्ने बोध गराउँदै जिल्ला अध्यक्ष गोपाल काफ्लेले झापामा सञ्चालन गरिएको काफ्ले जनगणनाको विषयमा प्रकाश पारेका थिए।

सो साधारण सभामा बुढीगंगा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सोमराज काफ्लेले आजकै पुस्ताले बन्धुहरूको वंशावली, स्थायी संरचना निर्माण गरी भविष्यको पुस्तालाई हस्तान्तरण नगरेमा हाम्रो अस्तित्व विलय हुनसक्ने आशंका सुनाए। राजतन्त्र थियो विलय भयो, राजनीतिक शक्तिहरू कतिपय विलय भए । त्यसैगरी काफ्लेहरूको यो संगठन पनि विलय भएर जान नपाओस् । यसका लागि सबैले मिलेर काम गर्नुको विकल्प छैन, कार्यक्रमका अतिथि सोमराज काफ्लेले आफ्नो धारणा राख्ने क्रममा बताए ।

साधारण सभा समारोहमा सान्डिल्य आश्रम निर्माणका लागि रकम सहयोग गर्ने दाताहरू तथा शताब्दी उमेर छेउछाउका तीनजना बुवा आमाहरूलाई जेष्ठ सदस्य सम्मान प्रदान गरिएको थियो।

केन्द्रीय समितिका सचिव शिवप्रसाद काफ्ले सञ्चालन गरेको सो साधारण सभा समारोहमा आमिन्त्रत अतिथि एवं सहभागीहरूलाई उपाध्यक्ष गोपालप्रसाद काफ्लेले शाब्दिक स्वागत गरेका थिए। ।