२०८१ माघ २, बुधवार , ०५:१०:२९ बजे

Sajhamanch
'

भूकम्प दैवीप्रकोप होइन, प्राकृतिक प्रक्रिया हो : प्रधानमन्त्री

बुधवार, माघ २, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पलाई जनमानसमा दैवीप्रकोप भनिने गरिएपनि त्यो प्राकृतिक प्रक्रिया भएको बताएका छन् ।

२७ औँ भूकम्प दिवस २०८१ मूल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्प जाने, आँधी र पातलो हावा चल्ने कुरा दैवीप्रकोप नभएर प्राकृतिक प्रक्रिया भएको बताएका हुन् ।

‘हामीले एउटा गलत शब्द प्रयोग गर्ने गरेका छौ– दैवी प्रकोप भनेर । दैव किन रिसाउँछ रु’, प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यदि हामीले दैवी प्रकोप मान्ने हो भने पशुपतिमा पूजा गर्नुपर्छ, स्वयम्भू, बौद्धनाथतिर पूजाआजा गर्दा हुन्छ । तर यो दैवी प्रकोप होइन । हामीसँग भगवान् रिसाउनुपर्ने कारण के छ रु’

प्रधानमन्त्री ओलीले भूकम्प रोक्न नसकिएपनि त्यसबाट जोगिन सोही किसिमका संरचना बनाउनुपर्नेमा जोड दिए ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पपछि पुनर्निर्माण भएका एकीकृत बस्तीहरूमा तुलनात्मकरुपमा सुरक्षाको स्थिति रहेको समेत बताए ।

उनले एकीकृत बस्तीमा रोजगारी र आय आर्जनको वातावरण भने कम हुने स्थिति नहुने गरी आगामी दिनमा पुनर्विचार गर्नुपर्नेमा जोड दिँदै भूकम्प प्राकृतिक कारणले आउने हुँदा यसलाई टार्ने नसकिने भएकाले भूकम्प प्रतिरोधी घर र संरचना बनाउन सकिए क्षति कम हुने उल्लेख गरे ।

उनले माघ महिनालाई भूकम्पीय सुरक्षाको स्मरणका साथै नेपालको लोकतन्त्र प्राप्तिको आन्दोलनको सङ्घर्षमा होमिएका सहिदहरुको स्मरणको महिनाका रूपमा पनि लिइएको बताए ।

‘२०७२ सालको भूकम्पपछि हामीले पुनःनिर्माणमा राम्रा उपलब्धि र हासिल गरेका छौँ । त्यसका सिकाइलाई लिएर आगामी दिनमा अझ व्यवस्थित बस्ती विकास पूर्वतयारीका काममा लाग्नुपर्नेछ’, प्रधानमन्त्री ओलीले भने, ‘विज्ञहरूसँग छलफल गरेर हामीले आगामी दिनमा भूकम्प र विपद्बाट हुन सक्ने क्षतिको पूर्वतयारीमा गम्भीरताका साथ लाग्नुपर्छ । सरकारले यसको अगुवाइ गर्नेछ ।’

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशनमान सिंह, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, प्रतिनिधिसभा सदस्य राजेन्द्र केसीलगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर