हैटीमा हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत वर्ष तीन गुणाले बढेर १० लाखभन्दा बढी पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ।संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले आफ्नो पछिल्लो तथ्याङ्कले ‘१० लाख ४१ हजार मानिस धेरै पटक विस्थापित भएका र तीव्र मानवीय संकटको बीचमा संघर्ष गरिरहेका छन्’ भनेको छ।
‘सन् २०२३ डिसेम्बरमा हामीले रेकर्ड गरेका हिंसाबाट लगभग तीन लाख १५ हजार मानिस विस्थापित भएका थिए’, आईओएमका प्रवक्ता केनेडी ओकोथ ओमोन्डीले पत्रकारहरूलाई भने, ‘त्यसयताको एक वर्षमा हामीले यो सङ्ख्या तीन गुणाले बढेर हैटीमा गिरोह हिंसाका कारण अब १० लाखभन्दा बढी मानिस विस्थापित भएको देखेका छौँ।’
राजधानी पोर्ट–अ–प्रिन्समा आइओएमले ‘निरन्तर गिरोह हिंसा, आवश्यक सेवाहरूको पतन-विशेष गरी स्वास्थ्य सेवा– र बढ्दो खाद्य असुरक्षाका कारण’ विस्थापन ८७ प्रतिशतले बढेको बताएको छ।यो गरिब क्यारेबियन देश दशकौँदेखि राजनीतिक अस्थिरताले ग्रसित छ र हालका वर्षहरूमा शक्तिशाली बन्दै गएका गिरोहहरूले झन् खराब बनाएका छन्।
संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघको समर्थनमा केन्याको नेतृत्वमा रहेको प्रहरी सहयोग मिसन हुँदाहुँदै पनि हिंसा बढ्दै गएको छ।गत हप्ता संयुक्त राष्ट्रसंघको मानवाधिकार कार्यालयले हैटीमा बढ्दो गिरोह हिंसामा गत वर्ष पाँच हजार छ सयभन्दा बढी मानिस मारिएको र हजारौँ घाइते वा अपहरण गरिएको बताएको थियो। एजेन्सी