२०८१ पौष २९, सोमवार , ०१:२५:२४ बजे

Sajhamanch
'

माई मेलामा जथाभावी पार्किङ शुल्क लिनेलाई कार्वाही गरिने

सोमवार, पौष २९, २०८१

झापा । माघे संक्रान्तिको अवसरमा लागेको कन्काई माई मेलामा जथाभावी पार्किङ शुल्क लिन नपाइने भएको छ ।

विगतका मेलाहरुमा मनपरी पार्किङ शुल्क लिएको गुनासो आएपछि यस वर्ष कडाई गरिने भएको हो । कन्काई नगरपालिकाले तोकेको दररेटभन्दा बढी शुल्क लिनेहरुलाई तत्काल कार्वाही गरिने कन्काई धार्मिक माई मेला समितिका अध्यक्ष किरण मैनालीले बताए । उनले नगरपालिकाले तोकेको पार्किङ र भिटौरीको दररेटभन्दा बढी लिन नपाइनेगरी कडाई गरिएको जानकारी दिए ।

नगरपालिकाले साइकललाई २० , मोटरसाइकललाई ५० , कारजीपलाई १०० र बस ट्रकलाई २०० रुपैयाँ पार्किङ शुल्क तोकेको छ । त्यस्तै पसल थाप्ने साना व्यवसायीका लागि न्यूनतम भिटौरी शुल्क २० रुपैयाँ स्क्वायर फुट र स्पेशल भिटौरीका लागि ८० रुपैयाँ स्क्वायर फुट दररेट तोकिएको मैनालीले जानकारी दिए । कन्काई माईमा ७ दिने मेला लागेको हो । पुष २७ गते शनिवार उद्घाटन गरिएको मेला हिजोदेखि औपचारिकरुपमा शुरु भएको हो । सो मेला माघ ३ गतेसम्म लाग्नेछ ।

कन्काई पुलपूर्व कोटीहोम क्षेत्रमा करिव ५० वटा व्यावसायिक स्टल निर्माण गरिएको छ । त्यस्तै मेलामा रोटेपिङ, ब्रेकडान्स , कोलम्बस, ड्रागन, लाइभ कन्र्सटजस्ता खेलतमासाहरु रहेको मैनालीले जानकारी दिए । त्यस्तै मकर स्नान गर्न आउने भक्तालुहरुका लागि धुनीको व्यवस्था गरिएको छ भने नदी वारिपारि गर्न दुईवटा बाँसे पुल निर्माण गरिएको मैनालीले जानकारी दिए ।

मेलामा निःशुल्क पानी, प्राथमिक उपचारलगायतको व्यवस्था गरिएको उनले जानकारी दिए । यस वर्षको मेलामा गत वर्षको भन्दा बढी सहभागिता रहने आयोजक समितिले अपेक्षा गरेको छ ।

सम्बन्धित खबर