२०८१ पौष २८, आइतवार , ०९:५३:४२ बजे

Sajhamanch
'

शिवसताक्षी तर्फको ५ दिवसीय कनकाई माई धार्मिक मेलाको उद्घाटन

आइतवार, पौष २८, २०८१

शिवसताक्षी । पूर्वको प्रसिद्ध कनकाई माई धार्मिक मेलाको आज विधिवत उद्घाटन गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माईको किनारमा शान्तिको प्रतिक परेवा उढाएर तथा मेला प्रवेश गर्ने गेटमा टाँगिएको रिवन काटेर उद्घाटन गरिएको हो ।

शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले संयुक्तरुपमा रिवन काटेका थिए । उद्घाटनका क्रममा केक पनि काटिएको थियो ।

सो अवसरमा मन्तब्य राख्दै नगरप्रमुख थोप्राले वर्षौंदेखि लाग्दै आएको माइमेला कोरोना संक्रमणका बेला दुईवर्ष रोकिए पनि सो पछि निरन्तरता पाएको बताए । आफू सानो हुँदा मेला ठूलो लाग्ने गरेको सम्झँदै उनले नगरपालिकाले यस वर्षदेखि आफैं मेला सञ्चालन गरेर धेरै व्यापारीहरु भित्राउने प्रयास गरेको पनि बताए ।

यस वर्षदेखि पर्यटकीय क्षेत्र दोमुखामा पनि सधँका वर्षहरु भन्दा धेरै मात्रामा पर्यटक आउन थालेको जनाउँदै उनले भने, अब नगरपालिकाले आयोजना गर्ने हरेक पर्यटकीय क्षेत्र र मेलाहरुमा व्यापारीहरु सहजता दिँदै धेरै मात्रामा पर्यटक भित्रिने गरी काम गर्दै जाने विश्वास दिलाए ।

पर्यापर्यटन र माइमेलाले शिवसताक्षी नगरको विकास र आयस्रोतमा टेवा पुग्ने अपेक्षा गरिएको सुनाउँदै नगरप्रमुख थोप्राले भने, ‘हामीसँग त्रिधाम छन्, सताक्षीधाम, चिल्लागढ र यो मेला लाग्ने स्थान माइधाम । यसलाई पनि विकास गरी पर्यटक भित्राउन सकिन्छ ।’
उद्घाटन कार्यक्रममा बोल्दै १० नं. वडाका वडाध्यक्ष हर्क सिगुले मेलामा आउने मानिसहरुका कारण सडकमा अत्याधिक भिडभाड हुने भएकाले मेलाभर्न आएका भक्तजनहरुका लागि सडक पेटी खाली गरेको बताए । यसवर्ष मेलामा सडकको किनारमा कसैले पनि पसल राख्न पाउने छैन । सडकमा पसल राख्ने व्यापारीहरुलाई मेला स्थलमै व्यवस्थापन गरिएको छ ।

वडाध्यक्ष सिगुले विगत वर्षहरुमा स्वयम सेवकको रुपमा खटिने भाइ बहिनीहरुले पिङ, सर्कस लगायतमा पैसा नतिरी खेल्ने गरेर व्यापारीहरुलाई मर्का परेको गुनासो आएकाले यस वर्ष कुनै पनि स्वयसेवक नराखिएको पनि जानकारी गराए । ‘वडाले अनुगमन समिति गठन गरेको र त्यस समितिले कडा अनुगमन गर्नेछ । वडा नम्बर १० का नागरिकहरु सबै मेलाका स्वयसेवक हुन्’ वडाध्यक्ष सिगुको भनाई छ ।

मेलामा पिउने पानी, विजुली, शौचालय, रेडक्रस, एम्बुलेन्सको व्यवस्था गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्राथमिक उपचारका लागि स्वास्थ्य टोलीले मेला अवधिभर निःशुल्क सेवा दिने व्यवस्था मिलाइएको वडाध्यक्ष सिगुको भनाई छ ।

उद्घाटन कार्यक्रम पश्चात जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितिमा एक पटकका लागि सहभागीहरुलाई रोटेपिङ लगायत निःशुल्क खेलाइएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफे लगायतले मेला सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य दिपक पोखरेलले गरेका थिए ।

सम्बन्धित खबर