२०८१ माघ १२, शनिवार , १०:४६:०३ बजे

Sajhamanch
'

निर्माणाधीन चन्द्रगढी–बिर्तामोड सडक : धुलोकै पिरोलो

शुक्रवार, पौष २६, २०८१

भद्रपुर । निर्माणाधीन चन्द्रगढी-बिर्तामोड सडक खण्ड अन्तरगत लेखनाथ चोकदेखि देउनियाँ खोलासम्म भइरहेको ग्राभेलिङ तथा माटो फिलिङबाट प्रदुषण बढेको स्थानीयले गुनासो गरेका छन् ।

निर्माण व्यवसायीले सम्झौता अनुसार सो सडक खण्डमा पानी हाल्ने काम नगर्दा धुलो उडेकाले प्रदुषण बढिरहेको स्थानीयको भनाई छ ।

सडकलाई लथालिङ्ग अवस्थामा नै निर्माण कम्पनीले काम गरिरहेकाले सवारी साधन आवतजावत गर्दा धुलो उडेर अन्धकार हुनेगरी ढाक्ने गरेकाले आसपासका बासिन्दाको स्वास्थ्यमा समस्या देखिन थालेको उनीहरुको गुनासो छ ।

सडक निर्माण सम्पन्न गर्न निकै समय लाग्ने र निर्माण सम्झौता अनुसार नियमित पानी हाल्नु पर्नेमा त्यसो नभएको स्थानीयको आरोप छ ।

सडक निर्माणको ठेक्का पाएको काठमाडौँको कन्टेक प्रालिले वि. सं २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेर ३० महिनामा काम सम्पन्न गर्नुपर्नेथियो । तर सो अवधिमा करिब ३० प्रतिशत मात्र काम भएको र झण्डै दुई वर्ष निर्माण कार्य अलपत्र छाडिए पछि चालू आर्थिक वर्षबाट फटाफट काम भइरहेको हो ।

सडक निर्माणको ठेकेदारले सम्झौता अनुसार समयमै काम पूरा नगर्दा यात्रुहरूले सास्ती ब्यहोरिरहेका छन् भने सडक आसपासका बासिन्दा सुख्खा याममा धुलो र वर्षादमा हिलोको पीडा सहन बाध्य भएका छन् ।

आसपासका बासिन्दाले बाटो निर्माण कम्पनीलाई कम्तिमा दिनमा एकपटक भिज्नेगरी पानी हाल्न अनुरोध गरे पनि सुनवाई नभएको गुनासो छ ।

सम्बन्धित खबर