२०८१ माघ १२, शनिवार , ११:४२:४४ बजे

Sajhamanch
'

हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छ स् प्रधानमन्त्री

शुक्रवार, पौष २६, २०८१

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यातवृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताएका छन् । नेपाल हस्तकला महासंघको ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरूले सक्दो पहल गर्ने विश्वास दिलाए ।

उनले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामान भन्दा आफैँले मेहनत गरेर फलाएका खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गरे ।

‘हाम्रो देश कलाका लागि प्रसिद्ध देश हो । यहाँका विशेषता र कला अमूल्य छ । यिनमा हाम्रा दृष्टिकोण र कला सजिएका हुन्छन्’, उनले भने, ‘हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्दत गरेको छ । यस क्षेत्रबाट उत्पादित सामान निर्यातका लागि लागौँ, म यसका विभिन्न विधाको विकासका लागि के के गर्नुपर्छ भन्नेबारे महासङ्घलाई बोलाएर छलफल गर्छु । त्यसका आधारमा हामी थप काम गर्नेछौँ ।’

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले सरकारले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सम्बन्धी निर्देशिका जारी गरेकामा स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । उनले निर्यात वृद्धि र सहजीकरणका लागि विभिन्न बुँदमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्षरुपमा ११ लाख रोजगारी सृजना गरेको छ भने यसले करिब रु. ११ अरब मूल्यको निकासी र सोही रकम बराबरको आन्तरिक कारोबार गरेको जनाइएको छ ।

कार्यक्रममा उत्कृष्ट निर्यातकर्ता र योगदानकर्तालाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर