२०८१ माघ ११, शुक्रवार , ०३:२०:१७ बजे

Sajhamanch
'

झापामा सीमास्तम्भ मर्मत गरिँदै

शुक्रवार, पौष २६, २०८१

झापा । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५/१२ बाट मर्मतसम्भार कार्य थालिएको उनले बताए ।

झापामा भारतसँग नेपालको सीमा जोडिएको १४४ दशमलव दुई किलोमिटर क्षेत्रअन्तर्गत रहेका १०७ सीमास्तम्भ मर्मतसम्भार गरिनेछन् ।

सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), स्थानीयवासीको उपस्थितिमा सीमास्तम्भ मर्मत सुरु गरिएको हो ।

सीमा क्षेत्रमा रहेका सीमास्तम्भमध्ये सन् २०१४ पछि निर्माण गरिएका बिजोर नम्बरका सीमास्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मतसम्भार गर्ने निर्णयानुसार गत वर्षदेखि दुवैतर्फ सीमास्तम्भ मर्मत कार्य हुँदै आएको छ ।