२०८१ पौष २५, बिहिवार , ०९:४१:२७ बजे

Sajhamanch
'

सेवारो साकोसको साधारण सभामा असल कारोबारी तथा कर्मचारी सम्मानित

बिहिवार, पौष २५, २०८१

शिवसताक्षी । शिवसताक्षी ११ स्थित दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

वि.स. २०६३ सालमा दर्ता भई निरन्तर सञ्चालनमा रहेको संस्थामा ५८१ शेयर सदस्यबाट ७४ लाख ५१ हजार ५०० रुपैयाँ शेयर पुँजी संकलन भएको अध्यक्ष दुर्गादेवी मगरले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०८०/०८१ सम्ममा २७ लाख ५१ हजार ५४३ रुपैयाँ जगेडा कोष बनाउन सफल भएको जनाइएको छ ।

संस्थाका अध्यक्ष मगरले संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै वित्तीय क्षेत्रमा विभिन्न संकट परे तापनि सहकारीले आफ्नो काम निरन्तर गर्दै वित्तीय क्षेत्र चलायमान बनाउन सफल भएको बताइन् ।

उनले वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्नु पर्दैन भन्ने खालका भ्रम समाजमा फैलिँदा ऋण असुली समस्या रहेको र यसले सहकारी सञ्चालनमा समस्या उन्पन्न भएको जानकारी दिइन् ।

साधारणसभाका अवसरमा संस्थामा असल कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको छ । असल बचतकर्ताको रुपमा चन्द्रकुमारी भण्डारी, ज्याजलिन राई, असल ऋणितर्फ सुधिर राई, ज्येष्ठ सदस्य नेत्रप्रसाद ढकाल र असल कर्मचारीका रुपमा सपना मगरलाई सम्मान गरिएको संस्थाका व्यवस्थपक पूर्णमाया राईले जानकारी दिइन् ।

संस्थाले समीक्षा वर्षमा आफ्ना ६ जना महिला सदस्यहरु सुत्केरी भएको अवस्थामा उनीहरुलाई सुत्केरी खर्च प्रदान गर्दै आएको जानकारी गराइएको छ । संस्थाले ५० कित्ताभन्दा बढी शेयर हुने सदस्यहरुलाई सुत्केरी सुविधा प्रदान गरिँदै आएको जनाएको छ ।

त्यस्तै बालबालिकाहरुलाई बचत गर्नुपर्छ भन्ने भावनाको विकासका लागि बाल बचतकर्ताहरुको जन्म दिनमा केक प्रदान गर्दै आएको छ । संस्थामा एक वर्षभित्र १५ हजारभन्दा बढी बचत गर्ने बालबालिकाहरुको जन्म दिनमा केक उपहार पठाउने गरेको संस्थाले जनाएको छ ।

साधारण सभाका प्रमुख अतिथि, कोशी प्रदेश बचत संघका वरिष्ठ उपाध्यक्ष तथा झापा जिल्ला सहकारी संघका उपाध्यक्ष चन्द्रा खड्का भट्टराईले कतिपय सहकारीले आफ्नो कारोबार व्यवस्थित गर्न नसक्दा समस्या आएको बताइन् ।

सहकारीले आफ्नो विनियम अनुसार चल्ने र शेयर सदस्यहरुले सहकारीको अनुशासन भित्र बस्ने हो भने वित्तीय संस्थाहरु धरासायी नहुने उनको भनाई थियो ।

संस्थाहरुमा कारोबार कम हुँदै जाने अवस्था आयो भने, एउटै उद्देश्य भएका सहकारीहरुमा एकीकरण गरेर भए पनि वित्तीय संस्थाहरुलाई चलायमान बनाउन सकिने उनले बताइन् ।

कार्यक्रममा वडाध्यक्ष सन्त फेउदिन, संस्थाका पूर्व अध्यक्ष लाहानसिं तुम्बापो लगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभा समारोहको सञ्चालन संस्थाका व्यवस्थापक पूर्णमाया राईले गरेकी थिइन् ।

सम्बन्धित खबर