कानेपोखरी । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कानेपोखरीमा सञ्चालन गरेको पाँच दिने आधारभूत श्रृंगार तालिमको आज समापन गरिएको छ ।
संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्लामा रहेका सेवा केन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर आयोजना गरिएको तालिमको आज बिहीबार समापन गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
गत पुष २१ गतेदेखि सुरु भएको तालिमको उद्देश्य संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउंदै उद्यममा जोड्ने रहेकाले तालिममा सिकिएका सिपलाई व्यवहारमा उतार्न कार्यकारी प्रमुख बस्नेतले आग्रह गरे ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा कानेपोखरी गाउँपालिका वडा नंं ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको हो ।
संस्थाका अध्यक्ष भट्टराईले सिकेको ज्ञानलाई सदुपयोग गर्न आग्रह गर्दै पूँजी अभावकै कारण व्यवसाय सञ्चालनमा समस्या भए संस्थाले आवश्यक कर्जासहितको सुविधा उपलब्ध गराउने बताए ।
तालिममा मोरङ जिल्लामा रहेका सेवा केन्द्रहरुबाट ३४ जना महिला शेयर सदस्यहरु सहभागी थिए । उनीहरुलाई जानुकादेवी प्रधान र हृदयकुमारी संग्रौलाले प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई संस्थाले सहभागिताको प्रमाणपत्र पनि उपलब्ध गराएको छ ।
यस अघि पनि संस्थाले इलाम जिल्लाको नेपालटारमा इलाम जिल्ला अन्तर्गतका शेयर सदस्यहरुलाई श्रृंगार तालिम प्रदान गरेको थियो ।
त्यसैगरी संस्थाले खुदुनाबारीमा पनि केही समय अघि कपुरधुप बाती निर्माण तालिम प्रदान गरेको थियो ।
शिक्षा उपसमितिका सदस्य बद्री प्याकुरेलले सञ्चालन गरेको कार्यक्रमको औचित्य माथि कार्यकारी प्रमुख बस्नेतले प्रकाश पारेका थिए ।
झापा, मोरङ, इलाम र पाँचथर गरी ४ जिल्ला कार्यक्षेत्र रहेको सिम्रिक सकोसको ३ अर्ब २१ करोड माथिको वासलात छ भने ४६ वटा सेवाकेन्द्रहरु मार्फत शेयर सदस्यहरुलाई सेवा सुविधा दिइरहेको संस्थाले जनाएको छ ।
वित्तीय कारोबारसँगै संस्थाले कृषि, शिक्षा, स्वास्थ्यसहित सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाका आइटी सहायक विजय पाण्डेले जानकारी दिए ।