काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपाल एयरलाइन्सलाई सुधार नगरी विश्राम नलिने बताए ।
‘हामी अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम लिन्नौँ । यो बैठक अन्तिम बैठक होइन की यो बैठकबाट हामी अघि बढेर नेपाल एयरलाइन्सलाई सुधारेरै छाड्छौँ भन्ने संकल्प समितिले पनि गर्नुपर्छ,’ उनले भने ।
समस्याको पहिचान गरेर सुधार गर्नु अपरिहार्य रहेको बताउँदै उनले क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
‘क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध पनि कसरी हो हामीले सुधार गर्नुपर्नेछ । क्यान नियमनकारी संस्था हो, यो सेवा प्रदायक संस्था हो । तर क्यान सेवा प्रदायक संस्था पनि हो,’ उनले भने, ‘सेवा प्रदायक संस्था पनि भएको कारणले सेवा दिने दुई संस्थाको बीचमा सहकार्य र हार्दिकता नहुने हो भने काम गर्न निकै अफ्ठ्यारो पर्छ । आगामी दिनमा थप छलफल, परिणाममुखी छलफल र प्रतिफलमुखी छलफल गरेर हामी जान्छौं ।’
नेपालका कतिपय पहाडी क्षेत्रमा (कर्णाली, कोशी र गण्डकी) मा ठूलो जहाजहरू उड्ने विमानस्थल बनाउन जरुरी रहेको उनले उल्लेख गरे ।