विराटनगर । निजी क्षेत्र विभाजित भएपछि कोशी प्रदेशको लगानी सम्मेलन सरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलन आगामी १८ र १९ वैशाखमा गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले ११, १२ र १३ माघमा गर्ने निर्णय गरेको थियो । तर, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग संगठन मोरङलाई व्यवस्थापनको जिम्मा दिन खोजेपछि निजी क्षेत्र दुई भागमा विभाजित भएको थियो ।
उद्योग संगठनले ११ माघदेखि आयोजना गर्ने विराट एक्स्पोमा नै लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । नेपाल उद्योग परिसंघ कोशी प्रदेशसहित एउटा पक्षले एक्स्पोमा लगानी सम्मेलन गर्न नहुने पक्षमा थियो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसहित निजी क्षेत्रको अर्को पक्ष भने एक्स्पोमा नै सम्मेलन गर्नुपर्ने पक्षमा थियो ।
निजी क्षेत्र विभाजित भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार आफैंले लगानी सम्मेलन गर्ने बताएका थिए ।
तर, तयारीका लागि समय नपुगेको भन्दै बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन वैशाखमा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
परियोजनाहरूको सोकेसिङ, कानुनको संसोधन र खरिद प्रकृया मार्फत काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय भएको उनले बताए ।
कतिपय कानुन र नीति संशोधनका लागि केन्द्रीय सरकारको पनि सहयोग चाहिने भएकाले सम्मेलनको मिति सरेको उनले बताए ।
कोशी प्रदेश सरकारले लगानी सम्मेलनबाट १ खर्बको लागानी भित्र्याउने लक्ष्य राखेको छ । लगानी सम्मेलन गर्नका लागि सरकारले ३ करोड बजेट छुट्याएको छ ।