झापा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ चाँदी बजारबाट प्रहरीले आज बिहान १२० किलोग्राम गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।
चाँदी बजारबाट धरानतर्फ गाँजा ल्याउँदै गरेका व्यक्तिहरूले बिहान सवा ४ बजे चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएका टोलीमाथि आक्रमणको प्रयास गरेपछि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।
पाँच वटा मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा संलग्न ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
प्रहरीसँग जम्काभेट भएपछि प्रहरीमाथि आक्रमण प्रयास गरिएकाले हवाई फायर गरिएको उनले बताए । खनालका अनुसार प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो ।
प्रहरीका अनुसार गाँजासहित को ३८ प ३५२२ नम्बरको मोटरसाइकलसहित सहिदभूमि गाउँपालिका–१ गर्दुमका ३४ वर्षीय नकुल राई, प्र.१ ०२ ०५३ प ९९६३ नम्बरको मोटरसाइकलमा सवार २१ वर्षीय ओमप्रकाश राई, प्र. १ ०२ ०५३ प ८६१७ नम्बरको मोटरसाइकलका चालक साँगुरीगढी–८ तातोपानीका ८ वर्षीय मंगलकुमार राई र मोटरसाइकल पछाडि बस्ने २९ वर्षीय बिसन राई पक्राउ परेका छन् ।
त्यस्तै, प्र. १ ०२ प्र. १ ०२ ०४३ प. ९५९६ नम्बरको मोटरसाइकलमा सवार साँगुरीगढी–८ तातोपानीका ३६ वर्षीय थामबहादुर राई तथा सोही मोटरसाइकलको पछाडि बस्ने सुमन राईलाई समेत पक्राउ गरिएको डीएसपी खनालले बताए ।
संलग्न दुई जना व्यक्ति भने फरार रहेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज रमेश प्रधानले जानकारी दिए । उनीहरूले प्रयोग गरेको को १४ प ७७५० नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरार व्यक्तिहरूको खोजी भइरहेको उनले बताए । गाँजा , ५ वटा मोटरसाइकलसहित पक्राउ परेका ६ जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ ।