काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय संयन्त्रमा सरकारको काम कारबाहीको समीक्षा गरिरहेको छ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार दुई दलीय संयन्त्रको बैठक नियमितजसो बसिरहेको छ । ‘सरकारको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमै छलफल चलिरहेको छ । कामको समीक्षा गर्ने र थप प्रभावकारी बनाउन विभिन्न इस्युमा छलफल भइराखेका छन्’, खड्काले अनलाइनखबरसँग भने ।
गत कातिक १५ गते कांग्रेस र एमालेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त संयन्त्र गठन गरेका थिए । दुई दलीय संयन्त्रमा कांग्रेस र एमालेबाट चाररचार जना सदस्य छन् ।
संयन्त्रमा कांग्रेसकातर्फबाट उपसभापति खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
संयन्त्रको पहिलो बैठक गत कातिक २१ गते बसेको थियो । उक्त बैठकले संयन्त्रको संयोजन दुई दलले पालैपालो एकरएक महिनाका दरले गर्ने निर्णय गरेको थियो ।
निर्णयअनुसार कात्तिक २१ देखि मंसिर २० गतेसम्म पहिलो महिनाको संयोजन कांग्रेस उपसभापति खड्काले गरेका थिए । मंसिर २१ देखि पुस २० गतेसम्म एमाले नेता ईश्वर पोखरेलले गरेका थिए ।
पुस २१ देखि पुनः कांग्रेस उपसभापति खड्काले संयोजन गर्न थालेका छन् । खड्काले सिंहदरबारमा बुधबार संयन्त्रको बैठक राखेका थिए । उक्त बैठकमा संसदमा विचाराधीन विधेयकहरूका सम्बन्धमा समेत छलफल भएको नेताहरूले बताएका छन् ।