झापा । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ थुम्लिङस्थित एक गोठमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आगलागीमा परी माप्य दुधकोशी गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय नवराज खालिङ राईको मृत्यु भएको हो ।
स्थानीय बलबहादुर नेवारको घाँस राख्ने गोठमा गएराति ११ः४० बजे आगलागी हुँदा खालिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
खालिङ बेवारिसे अवस्थामा बस्दै आएका थिए । घाँसले भरिएको गोठमा आगो लागेको थियो । राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाका विषयमा थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे, प्रहरी नायब उपरीक्षक घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुगेको छ । खालिङ जसकोमा काम गर्यो उसैकोमा खाँदै डुली हिँड्ने गरेका थिए ।