मेचीनगर । काँकरभिट्टाको मेची मासु उत्पादक सहकारी संस्थाले एक वर्षमा मासु बेचेर ६४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।
आज काँकरभिट्टामा भएको संस्थाको १७औँ वार्षिक साधारण सभामा अध्यक्ष भगिरथ राईले प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
प्रतिवेदनमा संस्थाले सञ्चालन गरेको मेची मिट मार्टबाट २०८०/०८१ मा १६ हजार ३३५ केजी ५०० ग्राम विभिन्न प्रकारका मासुजन्य वस्तु उत्पादन गरेर बेच्दा ६४ लाख १८ हजार ७६१ रुपैयाँ आम्दानी भएको उल्लेख छ ।
संस्थाले उत्पादन गरेको बोइलर कुखुराको मासु १३ हजार ७६४ केजी, खुट्टा–टाउको ८१४ केजी, पंगास माछा ७९० केजी, रहुँ माछा ५ केजी ८०० ग्राम, लोकल कुखुराको मासु ४६९ केजी, जिउँदो लोकल कुखुरा ८७ केजी २०० ग्राम, खसीको मासु ३४० केजी २०० ग्राम, खसीको भूडी ५२ केजी ८०० ग्राम, खसीको खुट्टा १२ केजी ५०० ग्राम बेचेको थियो ।
सदस्य कृृषकहरुले उत्पादन गरेको करिव २० हजार बोइलर कुखुरा संस्थाको तीन वटा मासु बिक्री केन्द्रबाट बेचिरहेको छ । संस्थाको मेची मिट एग्रो फार्म पनि सञ्चालनमा छ ।
२०६५ सालमा स्थापना भएको संस्थाले २०७९ मा मेची मिटमार्ट र मेची मिट एग्रो फर्म सञ्चलनमा ल्याएको थियो । मेचीनगर–७ र वडा नम्बर ८ मा जग्गा भाडामा लिएर फार्म सञ्चालन गर्दै आएको छ ।
सहकारीले बैंकिङ व्यवसायतर्फ दुई हजार ८५९ शेयर सदस्य रहेको संस्थाको चुक्ता पुँजी १ करोड ४७ लाख ६० हजार १०० र नाफा १३ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभाका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सहकारी भुईमान्छे र गरिवहरुको जिवीकोपार्जनको ‘सञ्जिवनी’ सावित भएको बताए ।
‘सहकारीलाई कालो धन लुकाउने ठाउँ बनाउनु हुँदैन’, नगरप्रमुख बुढाथोकीले भने ‘गलत ढंगले पैसा राख्ने र निकाल्नेलाई निगरानी गर्नुपर्छ । कानुन अनुसार सहकारीलाई दण्डा होइन, बचाउनतिर लाग्नु पर्छ ।’
कार्यक्रममा मेचीनगर सहकारी समन्वय समिति संयोजक वीपी भट्टराईले सरकारले ल्याएको अध्यादेश विरुद्ध सहकारी अभियन्ताहरु लागेको बताए । एक व्यक्तिको २ कार्यकाल र १० लाख रुपैयाँभन्दा बढी बचत गर्न नपाइने नियम सहकारीहरुलाई चित्त नबुझेको उनको भनाई छ ।
सहकारीलाई गलत ढंगले नबुझ्न आग्रह गर्दै उनले मेचीनगरका ७७ वटै सहकारी संस्थाको घरदैलोमा पुगेर अनुगमन गरिने बताए ।
कार्यक्रममा मेची मासु उत्पादक सहकारी संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद प्रसाईले बजारमा मासुजन्य वस्तु बिक्री गर्ने पसलेहरुले मनपरी ढंगले मुल्य राखेर बिक्री गरिरहेकोले त्यसलाई रोक्न स्थानीय सरकारले पहल गर्नु पर्ने बताए ।
खेलाडी र ज्येष्ठ नागरिक सम्मानित
सोही अवसरमा संस्थाले ५ जना ज्येष्ठ नागरिकहरुलाई जनही २ हजार रुपैयाँ नगद, एक–एक वटा ब्ल्याङ्केट र प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा मेचीनगर–७ का कृष्णकुमार ढुंगाना, विष्णुमाया विश्वकर्मा, मेचीनगर–६ का पदममाया पाठक, मायादेवी उप्रेती र इन्द्रमाया तामाङ रहेका छन् ।
त्यस्तै संस्थाले मेचीनगर–६ निवासी राष्ट्रिय तथा अन्तराष्ट्रिय जुनियर फुटबल गोल किपर एवम् प्रशिक्षक मिनबहादुर बस्नेतलाई नगद ५ हजारसहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।
मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगिरथ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उपाध्यक्ष राजकुमार पराजुलीले शाब्दिक स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कार्याललय प्रमुख अनिता गुरागाईले गरेकी थिइन् ।