काठमाडौं । शेयर बजार आज पनि समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५३ अङ्कले बढेर दुई हजार ६५३ दशमलव ३८ विन्दुमा पुगेको छ ।
आज बैंक, होटल, लगानी, म्युचल फन्ड, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज समृद्धि फाइनान्स, सिन्धु विकास बैंक कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सामुदायिक लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ३८ करोडको शेयर कारोबार भएकोमा आज ३०५ वटा कम्पनीका एक करोड ५५ लाख कित्ता शेयर ६ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।