काठमाडौं । एन्फा महिला फुटबल लिगको दोस्रो चरणमा आज स्याङ्जाको वालिङ नगरपालिका र विभागीय टोली त्रिभुवन आर्मी क्लब खेल्दैछन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फाको मैदानमा दिउँसो ३ बजे शुरू हुनेछ ।
दोस्रो चरणको लिगमा एक जीत र एक बराबरीका साथ आर्मी तेस्रो स्थानमा छ । शुरुआती दुवै खेलमा पराजित वालिङ अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगको दोस्रो चरणमा पाँच टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
गएको भदौ अन्तिममा भएको लिगको पहिलो चरणमा सहभागी १० टोलीबाट शीर्ष पाँच टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।
माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आर्मीसहित वालिङ नगरपालिका र बाग्मती युथ क्लब सहभागी छन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।