झापा । निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा १६३ मत ल्याई दमकका अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी भद्रपुरका प्रकाशकुमार सिंहले १४२ मतमात्र पाए ।
त्यस्तै सहकोषाध्यक्षमा अर्जुनधाराका सुरेन्द्र धिमाल निर्वाचित भएका छन् । सहकोषाध्यक्ष पदका लागि तीन जनाबीच कडा प्रतिष्पर्धा भएको थियो । त्यसमध्ये धिमाल १०४ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धीहरु एंगल गुरुङले ९९ र सुरेश भट्टराईले ९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै सदस्यहरुमा प्रवीण कट्वाल २४६, मनोज उप्रेती २२४, विवेक जवेगू २२५, गंगाप्रसाद गौतम २२४, दिनेश मैनाली २२२, ज्ञानबहादुर तामाङ २००, डालिम खड्का १९९, आशिष बान्तवा १९५, उद्धव कुँवर १९३ र भरत भट्टराई १९१ मत ल्याई निर्वाचित भएका छन् । १० जना सदस्यका लागि १५ जनाले उम्मेद्वारी दिएका थिए ।
अध्यक्ष, सहकोषाध्यक्ष र सदस्यबाहेक बाँकी पदहरुमा यसअघि नै सर्वसम्मत भइसकेको थियो । संघको प्रथम उपाध्यक्षमा केदार गिरी, द्वितीय उपाध्यक्षमा राजकुमार राई, तृतीय उपाध्यक्षमा नयन बराल, महासचिवमा पुष्पराज निरौला, सचिवमा लोकेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा यज्ञनिधि भुर्तेल र महिला सदस्यमा कमला थाम्सुहाङ निर्विरोध भएका थिए ।
निर्माण व्यवसायी संघ झापामा ३७४ जना सदस्य रहेकोमा ३०५ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिका संयोजक गोपाल थापाले बताए । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्माण व्यवसायी संघको सभाहलमा मतदान भएको थियो भने सो पछि मतगणना गरी मंगलबार राति नै परिणाम घोषणा गरिएको हो।