२०८१ पौष २४, बुधवार , १०:५०:५८ बजे

Sajhamanch
'

भूकम्पको मनोवैज्ञानिक असर कायमै : संयमता अपनाउन आग्रह

बुधवार, पौष २४, २०८१

काठमाडौं । हिजो बिहान गएको भूकम्पको धक्काले धेरैलाई गोरखा भूकम्पको सम्झना दिलाएको छ । चीनको सिजाङ्ग प्रान्तको दिङ्गे काउन्टी केन्द्रबिन्दु भएर गएको ७ म्याग्निच्युडको भूकम्प नेपालमा काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा महसूस गरिएको थियो ।

ललितपुरको पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा.वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको, सामान्य भूकम्पको महसूस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने देखिएको बताउछन् ।

भूकम्पलगायतका विपद्का घटनाले जनधनको क्षति मात्रै नगर्ने, यसले मानसिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्न सक्ने मनोरोग विशेषज्ञ कार्कीको भनाइ छ । विशेषगरी भूकम्पको अनुभव गरेका व्यक्तिमा मनोवैज्ञानिक त्रास धेरै हुने भएकाले संयमता अपनाउन उनको सल्लाह छ ।

सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक रहेकोमा उनको जोड छ ।

खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको सन्देश प्रवाह नगर्न आग्रह गर्नुभएको छ । भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको अवस्थामा आधिकारिक सूचना मात्रै ग्रहण गर्न उनको आग्रह छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा।अधिकारीले भूकम्प गएमा के गर्ने ? कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी के–के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले ठूलो भूकम्पपछि परकम्पहरु आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई ख्याल गरी तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

सम्बन्धित खबर