काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा। बाबुराम भट्टराईले पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु सम्बन्धित पार्टीको मात्र सरोकारको विषय नभएको टिप्पणी गरेका छन् ।
पूर्व राष्ट्रपति विद्या भण्डारी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ सक्रिय राजनीतिमा फर्कन लागेको चर्चाका बीच पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मंगलबार यस्तो टिप्पणी गरेका हुन् ।
‘पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आआफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा वहाँहरू र वहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन’, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको मूल अन्तरवस्तुको रक्षा र विकासको विषय हो।’
भट्टराईले यो सवाललाई एक दलीय प्रणाली कि बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीको पक्षधर भनेर देखाउने परीक्षासँग जोडेर व्याख्या गरेका छन् ।
‘वहाँहरू दुवै ‘कम्युनिष्ट’ पृष्ठभूमिबाट आउनुभएकाले वहाँहरू र वहाँहरूका पूर्व पार्टीहरू परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एक दलीय प्रणालीका पक्षधर हुन् कि हाम्रै विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगीकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने परीक्षण गर्ने महत्त्वपूर्ण कसौटी पनि हो,’ उनले भनेका छन् ।
भट्टराईले पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा सक्रिय हुने कुरा सम्बन्धित पार्टीको मात्र सवाल नभएको भन्दै सबैको ध्यानाकर्षण पनि गराएका छन् ।