२०८१ पौष २४, बुधवार , ०१:१८:१३ बजे

Sajhamanch
'

भूकम्प अपडेट : ओखलढुंगा, सोलु र संखुवासभामा ६ घर भत्किए, ताप्लेजुङको दोभान प्रहरी कार्यालयमा क्षति

मङ्गलवार, पौष २३, २०८१

विराटनगर । तिब्बत केन्द्रविन्दु बनाएर बिहान गएको भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा प्रभाव परेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले केही घर क्षति पुगेको विवरण प्राप्त भएको छ ।

कोशीका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी आएको बताए । उनका अनुसार ओखलढुंगामा एक घर पूर्णरूपले क्षति पुगेको छ ।

ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार ओखलढुङ्गाको चिसंखुगढी गाँउपालिका-५ शिरिसेका इन्द्रबहादुर परियारको घर पूर्णरूपमा भत्किएको छ । ४ वटा घरमा आंशिक क्षति पुगेको छ ।

प्रहरीका अनुसार ओखलढुंगाकै सिद्धीचरण नगरपालिका चुहान छापका हिमाल कार्कीको घरमा आंशिक क्षति पुगेको छ । सोलुखुम्बुको थुलुंङ दूधकोशीमा हर्कबहादुर खत्रीको घरमा क्षति पुगेको छ । यस्तै सोलुकै खुम्बु पासाङ्गल्यामु गाँउपालिकामा ङिमा शेर्पाको घर भत्किएको छ ।

संखुवासभाको भोटखोलामा तेन्जिङ्ग शेर्पाको घर पनि भूकम्पले भत्काएको छ । प्रहरीले क्षति पुगेका स्थानमा खोज र उद्धारको काम शुरू गरेको छ । क्षतिको अन्य विवरण संकलनको क्रममा रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर