अभिभावक अटिजमबारे थाह नुहँदा बालबालिकाहरु पढाई र स्याहारबाट बञ्चित
- सरोज भट्टराई
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका विभिन्न वडाहरुमा अटिजम भएका बालबालिकाहरु फेला परेका छन् ।
गएको पौष ७ गतेबाट १७ गतेसम्म सञ्चालित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरण शिविरमा स्वास्थ्य परीक्षणका क्रममा अटिजम भएका बालबालिकाहरु फेला परेका हुन् ।
शिविरमा शिवसताक्षीका ११ वटै वडामा अटिजम भएका बालबालिकाहरु फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
शिवसताक्षी नगरपालिकाका सहकारी प्रमुख तथा शिविरका संयोजक बद्री दाहालका अनुसार नगरका प्रत्येक वडामा १२ देखि १५ जना अटिजम भएका बालबालिकाहरु भेटिएका छन् ।
उनले शिवसताक्षीमा अटिजम भएका बालबालिकाहरुको तथ्यांक नगरपालिकासँग नभएको जानकारी दिए । उनका अनुसार शिविर सञ्चालनका क्रममा स्वास्थ्य परीक्षणका लागि आएका धेरै बालबालिकाहरुमा अटिजम देखिएकोे हो ।
शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले अटिजमको समस्या विश्वभर बढेको र शिवसताक्षीमा पनि देखिएको जानकारी दिए । तर कति संख्यामा छन्, त्यो आधिकारिक तथ्यांक आइपुगेको छैन ।
बालबालिकामा अटिजम सम्बन्धी समस्या देखिएको यो नगरमा पहिलोपटक थाहा भएको र यसका लागि अहिले नै के गर्ने भन्ने विषयमा छलफल नभएको उनले जानकारी दिए । नगरप्रमुख थोप्राले भने, ‘राज्यले यस्ता समस्यालाई कसरी हेर्छ, त्यसपछि मात्रै नगरपालिकाले आफ्नो धारणा बनाउने छ ।’
अटिजमको संख्या देखिएसँगै त्यस्ता बालबालिकाहरुलाई अध्ययन गराउने, थेरापी गराउने, उनीहरुलाई सामान्य अवस्थामा ल्याउनका लागि आवश्यक सामग्रीहरु नभएका कारण समस्या भएको अभिभावकहरु बताउँछन् ।
शिवसताक्षी १ डुँडामारी निवासी सन्दिप शेर्माको ६ वर्षीय छोरा मिक्सम शेर्मालाई अटिजम भएको छ । छोरा दुई वर्ष पुग्दासम्म तोते बोल्दै थिए, त्यसपछि नानीको बोली अचानक बन्द भएको बुबा सन्दिपले बताए । छोराले बोल्न छोडेपछि अस्पताल लैजाँदा डाक्टरले अटिजमको लक्षण रहेको बताएका थिए ।
मिक्सम ६ वर्ष पुग्दा पनि बोलेका छैैनन् । आफ्नो छोरालाई अध्यापन गराउन विद्यालयले नमान्ने गरेको बुबा सन्दिपको गुनासो छ । उनका अनुसार नगरभित्र धेरै अटिजम भएका बालबालिका छन । तर, आफ्ना छोराछोरीहरुलाई अटिजम भएको थाहा पाए गाउँलेले खिसीटियुरी गर्ने, अपहेलना गर्ने डरले अभिभावकहरुले अटिमको समस्या भएको बाहिर ल्याउने गरेका छैनन् ।
उनी भन्छन्् ‘बालबालिकामा अटिजमको समस्या दिन प्रतिदिन बढेर गइरहेको छ । सरकारले यस्ता बालबालिकाहरुलाई पढ्ने, थेरापी गर्ने र उनीहरुलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्था गरिदिन आवश्यक छ ।’
सन्दिपले छोरा मिक्समलाई हाल कनकाई नगरपालिका स्थित सुरुङ्गाको एक विद्यालयका पठाउँदै छन् । अटिजम भएका बालबालिकालाई पढाउन शुल्क महंगो हुने उनले जानकारी दिए ।
तीन वटा क्लासको मासिक १० हजार तिर्नुपर्छ । उक्त रकम न्यून आय भएका नागरिकको लागि महंगो हो । उनका अनुसार सुरुङ्गाको एक विद्यालयमा मात्र ६० जना अटिजम भएका बालबालिकाहरु पढ्ने गरेका छन् ।
नगरका कपितय अभिभावकलाई आफ्ना छोरा छोरीहरुलाई अटिजम भएको भन्ने बारे थाहै छैन । उनीहरुले नानीहरुलाई अस्पतालसम्म लगेका छैनन् । उनीहरु अटिजम सम्बन्धी रोगबारे अनविज्ञ छन् ।
विश्व स्वास्थ्य संगठनको सन् २०२२ रिपोर्ट अनुसार प्रत्येक १०० जना बालबालिका मध्ये १ जनामा अटिजम भएको प्रतिवेदन छ । नेपालमा अटिजम भएका बालबालिकाको संख्या कति छ भन्नका लागि कुनै सर्वेक्षण भएको पाइँदैन ।
सन २०१६ मा नेपालको एक दुर्गम जिल्लामा गरेको अनुसन्धान अनुसार एक हजार बालबालिकामध्ये ३ जना स्कूल जाने उमेरका बालबालिकामा अटिजमको लक्षण भएको पाइएको थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चार हजार ८८६ जनामा अटिजम भएको पाइएको थियो । सो पछि पनि अटिजम भएका व्यक्ति वर्षेनी बढिरहेका छन् । राज्यका कुनै निकायसँग यसको यकिन तथ्यांक छैन ।
जनगणनाको तथ्यांकमा कोशी प्रदेशमा ९०१, मधेशमा ७८०, बागमतीमा एक हजार २५३, गण्डकीमा ४३५, लुम्बिनीमा ८५६, कर्णालीमा ३०९ र सुदूरपश्चिम प्रदेशमा ३५२ जना व्यक्तिमा अटिजम भएको उल्लेख छ । तथ्यांकले सबैभन्दा बढी बागमती प्रदेशमा अटिजम भएका व्यक्ति रहेको देखाएको छ ।
बागमती प्रदेशको १३ जिल्लामा एक हजार २५३ जनामा अटिजम भएको तथ्यांक छ । जसमध्ये सबैभन्दा बढी काठमाडौंमा ४९५ र चितवनमा ११३ जना छन् । यसबाहेक ललितपुरमा ८३, भक्तपुरमा ७८, मकवानपुरमा ७७, काभ्रेपलाञ्चोकमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५–६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३, रामेछापमा २८ र रसुवामा १७ जनामा अटिजम देखिएको छ ।
विश्वको जनसंख्याको एक प्रतिशत बालबालिका अटिजमको शिकार भएका छन् । त्यसमा पनि नेपालमा मात्रै करिब तीन लाख बालबालिकामा अटिजम भएको अनुमान गरिएको छ ।
अटिजम भएका बालबालिकालाई ‘रोगी’ भन्ने प्रचलन छ । तर यो रोग नभई मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था मानिन्छ ।
अटिजमलाई एउटा ‘स्पेकटम डिसअर्डर’ मानिन्छ । यसको स्पष्ट लक्षण १८ महिनादेखि तीन वर्ष भित्रमा देखापर्छ । बच्चामा सामान्य बच्चाभन्दा फरक खालका व्यवहार देखिए भने अभिभावकले समयमै सचेत भएर बालरोग विशेषज्ञलाई देखाएर समस्या पहिचान गर्नुपर्ने विज्ञहरुको भनाई छ ।