२०८१ पौष २२, सोमवार , ०८:३३:४५ बजे

Sajhamanch
'

कांग्रेस महामन्त्री शर्माद्वारा हिमालको चुचुरोसँगै राजनीतिको चुचुरो चुम्ने अभिलाषा रहेको खुलासा

आइतवार, पौष २१, २०८१

मेचीनगर । नेपाली कांग्रेस झापा क्षेत्र नं. १ को क्षेत्रीय भेला आज मेचीनगरमा सम्पन्न भएको छ ।

सय दिने विशेष सांगठनिक अभियान अन्तरगत आयोजित भेला पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

सो भेलामा मन्तब्य राख्दै महामन्त्री शर्माले पार्टी संगठनको नेतृत्व प्राप्त गर्ने ब्यक्ति र जनप्रतिनिधिहरुले प्राप्त मतको सम्मान हुनेगरी काम गर्नुपर्ने बताए ।

‘पाएको मतको सम्मान हुने गरी काम गरौं’ महामन्त्री शर्माले भने, ‘प्राप्त मतको सम्मान गरेर काम गरे पुग्छ । जनअपेक्षा अनुसारका काम गरौं, पार्टी संगठन भित्र जिम्मेवारी प्राप्त गर्नेले संगठन बलियो बनाउनुहोस्, जनप्रतिनिधि बनेकाले जनताको भावना अनुसारको काम गरौं ।’

पार्टीको महाधिवेशन समयमै गर्ने बताउँदै उनले यही ब्यवस्था भित्र रहेर संविधान संशोधन गरिने पनि जानकारी दिए । एक ब्यक्ति दुई पटक मात्रै प्रधानमन्त्री बन्ने ब्यवस्था गरिनु पर्नेमा उनको जोड थियो ।

आगामी २०८४ सालमा हुने आवधिक चुनावमा आफू उम्मेदवार नबन्ने शर्माको घोषणा छ । उनले २०८४ मा झापा क्षेत्र नं. १ बाट चुनाव नलड्ने र साथीहरुलाई चुनाव लड्नका लागि तयारी रहन अनुरोध पनि गरेका छन् ।

महामन्त्री शर्माले सो भेलामा २०८४ मा कांग्रेस एक्लै चुनाव लड्ने उद्घोष गर्दै अबको मिसन हिमालको चुचुरो र राजनीतिको चुचुरो पुग्ने कोशिस गर्नेछु ।

२०८४ का लागि भोट माग्ने होइन, पहिला भोट दिएकाहरुको ऋण तिर्नेमा लागिरहेको छु भन्दै महामन्त्री शर्माले हिमालको चुचुरोसँगै राजनीतिकको चुचुरो पुग्ने अभिलाषा रहेको सुनाए ।

भर्खरै हिमालको बेस क्याम्प पुगेका सांसद शर्माले हिमालको चुचुरोसँगै राजनीतिकको चुचुरो पुग्ने अभिलाषा रहेको बताए ।

कार्यक्रमका अर्का वक्ता कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराईले पार्टीलाई सशक्त बनाउने चिन्ता कार्यकर्तालाई रहेको अवगत गराइन् । अधिकार माग्ने मात्रै होइन, खोज्न र खोस्न सक्नुपर्ने धारणा राख्दै उनले युवालाई नेतृत्वमा पुर्याउन सके युवामा आश जाग्ने र पार्टी रुपान्तरण हुनेसक्ने अभिमत राखिन् ।

कांग्रेस जिल्ला सभापति देउकुमार थेवेले केन्द्रीय कार्यक्रमलाई सफल सञ्चालन गर्ने मात्रै होइन, जिल्लाले काम गर्दा टोलसम्मकै क्यालेन्डर तयार पारेर जिम्मेवारी दिएको र काम गरिरहेको प्रष्ट पारे । जिम्मेवारी बुझेर काम गर्न तल्लो निकाय र नेतृत्वलाई आग्रह गर्दै सभापति थेवेले पार्टीले दिएको जिम्मेवारी पूरा गर्नसके पार्टीका धेरै समस्या हल हुने स्पष्ट पारेका थिए ।

नेपाली कांग्रेस कोशी प्रदेश सदस्य विमल आचार्यले तल्लो तह र गाउँसम्म जाने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । नेताहरुले पद लिएको जिम्मेवारी पूरा नगरेको उनको जिकिर थियो ।

कोशी प्रदेश समिति सदस्य शोभा श्रेष्ठ नेम्वाङले प्रतिनिधिमुलक रूपमा संकुचित गरेर प्रमुख नेतृत्वमा महिलालाई लान नचाहेको टिप्पणी गरिन् ।

क्षेत्र नं. १ का सभापति इन्द्रबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्तब्य राख्ने अधिकांश वक्ताहरुले पदीय दायित्वले तल माथि भएपनि इज्जत र सम्मानले समान हुनुपर्ने, गुट उपगुटको अन्त्य गर्नुपर्ने, सर्वसम्मतका नाममा लोकतान्त्रिक अभ्यासबाट गर्न नदिने काम पूर्णरूपमा रोकिनु पर्ने, जनसेवामा नेता समर्पित हुनुपर्ने धारणा राखेका थिए ।

पार्टीको भविष्य पार्टी नेतृत्व, जनप्रतिनिधि र सांसदहरुको कार्य सम्पादनमा निहित रहेको बताउँदै संविधान संशोधन गर्दा स्पष्ट हुनुपर्ने उनीहरुको धारणा थियो ।

क्षेत्रीय उपसभापति सन्तोष न्यौपानेले शाब्दिक स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सचिवद्वय सुरेन्द्र बुढाथोकी र गुणराज भट्टराइले सयुक्तरुपमा गरेका थिए ।

सम्बन्धित खबर