काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार ५९१ दशमलव ५६ विन्दुमा पुगेको छ ।
आज बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा जलविद्युत्, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत् र ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन नारायणी विकास बैंकको शेयर भने झन्डै नौ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार चार अर्ब ६० करोडको शेयर कारोबार भएकोमा आज ३२७ वटा कम्पनीका ९३ लाख ८६ हजार कित्ता शेयर चार अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको १९ करोड रुपैयाँको शेयर कारोबार भयो ।