काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले हल्ला नगरी काम गरिराखेको बताएका छन्।
धरानमा आइतबार कांग्रेसले गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले परिस्थितिअनुसार अहिलेको संघीय सरकार बनेको र यसले काम गरिराखेको दाबी गरेका हुन्।
‘आउने चुनावमा पनि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने कुरा सबैलाई थाहा छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘परिस्थितिको आवश्यकताअनुसार अहिलेको सरकार बनेको हो। सरकारले हल्ला नगरी काम गरिरहेको छ।’
यसअघिका सरकारले पूरा गर्न नसकेका काम र आयोजनाहरू पनि अहिलेको सरकारले अघि बढाएको उनले बताए।
साथै उनले नेपाली कांग्रेस र एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताए। सरकार गठनका बेला भएको सहमति अनुसारनै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने उनले बताएका छन्।
सरकार गठनअघि भएको सहमतिमा कांग्रेस र एमाले इमान्दार रहेको उनको भनाइ छ।
‘सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ,’ उनले भने।