२०८१ पौष २२, सोमवार , ०१:०७:५१ बजे

Sajhamanch
'

सञ्चालकहरुले सहकारीबाट ऋण नलिए ८० प्रतिशत समस्या समाधान हुन्छ : अध्यक्ष गिरी

आइतवार, पौष २१, २०८१

झापा । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा रहेका व्यक्तिहरुले ऋण नखाने हो भने सहकारीको ८० प्रतिशत समस्या समाधान हुने बताएका छन् ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु मै बढी समस्या देखिएको भन्दै उनले सञ्चालकहरु कै कारण झापाका केही सहकारीहरु अप्ठ्यारोमा परेको धारणा राखेका हुन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको १३औं वार्षिक साधारण सभाको उद्घाटन पछि आफ्नो मन्तब्यमा उनले भने ‘झापाका धेरै सहकारीहरु बिग्रेका छैनन्, २–४ वटा मात्र समस्यामा परेका छन् ।’

नेताहरुलाई ऋण नदिँदा काठमाडौजस्तो भयावह अवस्था झापामा नरहेको उनको भनाई छ । ‘दुई–चारजना नेताले बिरिङ खोला किनारको जग्गा राखेर सहारा नेपालमा ऋण खान खोजेका थिए’ सहारा नेपाल साकोस लि.का प्रमुख कार्यकारी अधिकृतसमेत रहेका गिरीले भने, ‘त्यसमा लोभिएको भए सायद म पनि जेल जान्थेँ होला ।’

सरकारले सहकारी सुधार गर्न भनी हालै ल्याएको अध्यादेशलाई संशोधन गर्न सडकदेखि सदनसम्म आवाज उठिरहेको बताउँदै गिरीले अध्यादेशका केही बुँदा सहकारीको हितमा नदेखिएको प्रष्ट पारेका छन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघ, लेखा सुपरीवेक्षण समितिका संयोजक चूडामणि ओझा, बिर्तामोड नगरपालिकाका सहकारी विभाग प्रमुख मोहन सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

बचततर्फ उत्कृष्ट कारोबार गर्ने झापा गाउँपालिकास्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्था र कर्जातर्फ बिर्तामोड ४ स्थित जनशक्ति बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरी, बचत तथा ऋण सहकारी संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द्रा खड्का भट्टराई र कोषाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो ।

बचत तथा ऋण सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव यामकुमार चुडालले गरेका थिए । बचत तथा ऋणको कारोबार गर्ने १५९ वटा सहकारी सो संघमा आवद्ध रहेका छन् ।

त्यस अवसरमा वीपी भट्टराईले लेखेको सामान्य सहकारी नामक पुस्तक विमोचन गरिएको थियो । जसको बारेमा लेखक तथा पत्रकार सन्तोष आचार्यले टिप्पणी गरेका थिए ।

सम्बन्धित खबर