झापा । आगामी माघ ८ गतेदेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव गर्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले तयारी सुरु गरेको जनाएको छ ।
आज आफ्नो सचिवालयमा पत्रकार सम्मेलन गरी बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सवको तयारी शुरु गरिएको जनाएको हो । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आगामी माघ ८ देखि १९ गतेसम्म बिर्तामोड ५ धर्मकाँटा रोडको मंगल एकता टोलको खाली जमिनमा महोत्सव सञ्चालन हुने भएको हो ।
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवलाई चार भागमा विभाजन गरिएको छ । महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन् । महोत्सवमा १५० वटा स्टल रहने र छुट्टाछुट्टै चार विधाका अलग–अलग स्टल राखिने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । उनका अनुसार महोत्सवमा व्यापारसंगै कृषि कृषि उत्पादनलाई प्रवर्द्धन गरिने छ । कृषिका स्टललाई निःशुल्क गरिने उनको भनाई छ ।
झापाकै ठूलो बजारका रुपमा रहेको बिर्तामोडमा आयोजना गरिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने अपेक्षा राखिएको छ । महोत्सवले सानादेखि ठूला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रुपमा लिइएको अध्यक्ष न्यौपानेले बताए ।महोत्सवमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट गराई सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराइने संघका उद्योग उपाध्यक्ष तथा महोत्सव संयोजक विशाल थापाले बताए ।
प्रदर्शनीकक्षमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ताचप्पल प्रदर्शनमा रहनेछन् ।
विशिष्ठ खालका स्टलहरुले सजाइने महोत्सवमा मूल प्रवेशद्वार कलाकृतियुक्त निर्माण गरिने व्यवस्थापक ललित सिंखडाले जानकारी दिए । महोत्सवमा चर्चित कलाकारहरु तथा विभिन्न ब्यान्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ । बाल उद्यान क्षेत्रमा पिङलगायत विभिन्न मनोरञ्जनात्मक खेलका स्टल रहने महासचिव कुशल खतिवडाले बताए ।
महोत्सवलाई दुई लाख जनाले अवलोकन गर्ने र करिव डेढ करोडको कारोबार हुने अनुमान गरिएको छ ।त्यस महोत्सवबाट करिव २० लाख रुपैयाँ नाफा हुने अनुमान गरिएको अध्यक्ष न्यौपानेले बताए ।
पत्रकार सम्मेलनमा आयोजकका पदाधिकारीसहित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेला समिति संयोजक उमेश डालमिया, नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईलगायत सहभागी थिए ।