२०८१ पौष २१, आइतवार , ०४:१७:२७ बजे

Sajhamanch
'

अमेरिका पठाइदिने भन्दै ५९ लाख रुपैयाँभन्दा धेरै ठगी गरी फरार रहेका दुई जना पक्राउ

बिहिवार, पौष १८, २०८१

काठमाडौं । अमेरिका पठाइदिने भन्दै ठगी गरी फरार रहेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–२ घर भई चितवनको भरतपुर उपमहानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी गाउँपालिका–२ घर भई काठमाडौंको नागार्जुन बस्ने ३१ वर्षीय राजन आले रहेका छन् ।

कुलबहादुर र राजनले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाडौं महानगरपालिका–९ सिनामङ्गलबाट पक्राउ गरी ठगी कसूरमा अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए ।

यस्तै वैदेशिक रोजगारीमा अजरबैजान र यूएई पठाइदिने भन्दै सात लाख ५५ हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ३० वर्षीय जयप्रकाश चौरसिया र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का २७ वर्षीय आकाश दुलाल रहेका छन् ।

जयप्रकाशले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट चार लाख र आकाशले यूएई पठाइदिने भन्दै एक जनाबाट तीन लाख ५५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका सूचना अधिकारी आचार्यले जानकारी दिए ।

सम्बन्धित खबर