काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभा/बैठकमा सम्बोधान गर्दै कुलपति ओलीले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुुसन्धानमा सरकारले ध्यान दिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालको आधुुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सृजना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यलयले अगुवाइ गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्पतिको रक्षा र स्वर्गद्वारी गुठीलगायत छरपस्ट रहेका जग्गाहरुको उचित जगेर्ना गर्ने पनि स्पष्ट गरे ।
बैठकमा सहकुुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय शिक्षा नीति, २०७६ बमोजिम उच्चशिक्षालाई प्रतिस्पर्धी, उत्पादनमुखी र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिइन् ।
उपकुलपति प्रा. डा. धनेश्वर नेपालले हाम्रा प्राचीन ऋषिमहर्षिहरुको लामो तपस्याद्वारा निःसृत संस्कृत वाङ्मयमा ज्ञानविज्ञानको धारा प्रवाहित हुँदै आएकाले यसको मौलिकताको रक्षाका साथै आधुुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बैठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा आय व्यय (बजेट) पारित गरेको थियो ।