२०८१ पौष २१, आइतवार , ०४:११:२२ बजे

Sajhamanch
'

झापाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुल, पर्यटकको घुइँचो

बिहिवार, पौष १८, २०८१

झापा । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् ।

यो दृश्य झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुलको हो । जहाँ पुल हेर्ने पर्यटकको घुइँचो लागेको छ । पूर्वी नेपालको विभिन्न जिल्ला र भारतको सिक्किम तथा पश्चिम बङ्गालबाट समेत उक्त पुल हेर्न पर्यटक आउने गरेका छन् ।

बुद्धशान्ति–६ र ७ को दुई वटा गाउँ कोल्बुङ र रमिते गौडाबासीलाई टिमाईको गहिरो गल्छी छिचोल्न सहज बनोस् भनेर निर्माण गरिएको ४७७ मिटर लामो डी आकारको झोलुङ्गे पुल कोशी प्रदेशकै लामो भएका कारण हेर्न, फोटो खिच्न र टिकटक बनाउन टाढादेखि पर्यटक आउन थालेका हुन् । वडा नं ७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले पुलमा नसोचेको सङ्ख्यामा पर्यटक आउन थालेका बताए ।

“वल्लो डाँडाबाट पल्लो डाँडासम्म फलामे लट्ठामा अडिएको झोलुङ्गे पुल हेर्दै पर्यटक रमाउने गरेका छन्,” वडाध्यक्ष भण्डारीले भने, “बर्ने, सुनमाई, चारआली र धुलाबारीको बाटो हुँदै पुल हेर्न आउने पर्यटक दिनहुँ बढिरहेका छन् ।” पर्यटकले यहाँ टिकटक बनाउने गरेका छन् ।

दैनिक तीन सयदेखि पाँच सय जना पुल हेर्न आउँदा झोलुङ्गे पुल बनेको वारिपारिको क्षेत्रमा पर्यटकीय चहलपहल बढेको छ । बिदाका दिन पाहुनाको सङ्ख्या दोब्बर हुने गरेको छ ।

पर्यटकको मागअनुसार स्थानीय बस्ती, सडक र पुलको छेउछाउ खाजा तथा नास्ता बिक्री गर्ने साना होटल खुलेका छन् । चटपटे, पानीपुरी र मौसमी फलफूल बेच्ने अस्थायी पसल ह्वात्तै बढेको र स्थानीयवासीको आम्दानीसमेत वृद्धि भएको वडाध्यक्ष भण्डारीले बताए ।

सङ्घीय सरकारको रु. पाँच करोड ९८ लाखको लागतमा पुल निर्माण भएको स्थानीय पूर्वाधार विभागको सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनियर जयप्रसाद गुप्ताले बताए ।

झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत असार २४ गते शिलान्यास गरेको सो पुलको पाँच महिनामै निर्माण कार्य सम्पन्न भएको हो ।

यसको उद्घाटन हुन बाँकी नै छ । यही पुस २५ गते झोलुङ्गे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए ।

झापा र इलामको सीमामा रहेको टिमाई नदी गहिरो गल्छीका कारण पहिल्यैदेखि चर्चित छ । त्यहाँ पर्यटकीय आकर्षणका लागि बन्जी जम्प सञ्चालन हुनुपर्ने माग छ । वनभोज खान र नजिकैको पर्यटकीय क्षेत्र धारागोला र ठुटेबर घुम्न जानेको सङ्ख्या पनि अत्यधिक छ ।

अहिले आँखाले भ्याएसम्मको लामो झोलुङ्गे पुलले पर्यटकहरुको ध्यान खिच्न सफल भएको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ठाउँको नयाँ नामकरण गरेर पूर्वाधारहरु थप्ने पालिकाको योजना रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रसाईंले बताए।

“यति सजिलै, यति धेरै र यति छिट्टै पर्यटकको ओइरो लाग्ला भन्ने सोचिएको थिएन,” अध्यक्ष प्रसाईँले भने, “अब पुलको नयाँ नाम दिनुपर्ने खाँचो छ । उद्यान बनाएर पर्यटकलाई समय बिताउने सुविधाजनक संरचना निर्माणमा हामी लागिरहेका छौँ ।”

हाल पुलको नाम ‘कोलबुङ्गे गौडा रमिते गौडा झोलुङ्गे पुल’ रहेको छ । पुल बनाउनुअघि स्थानीय गाउँलेको भाषामा गौडा जोडेर परियोजनाको नाम जुराइएको थियो । तर नाम लामो भएकाले पालिकाले नयाँ नाम दिन लागेको प्रसाईंले बताए।

पुलको वडा नं ७ तर्फको किनारामा रु. चार करोड ५० लाखको बजेटमा बुद्धशान्ति हरित उद्यान निर्माण कार्य अघि बढाइएको छ । पालिकाको पहल र सङ्घीय सरकारको बजेटमा सो उद्यान निर्माण थालिएको र त्यसबाट पुल हेर्न र घुम्न आउने पर्यटकका लागि समय बिताउने रमणीय स्थान बन्ने उनको भनाइ छ ।

पर्वतको कुश्मामा रहेको लामो झोलुङ्गे पुलमा झैँ पर्यटकको आकर्षण बुद्धशान्तिको झोलुङ्गे पुलमा देखिएको छ । पुलको केही किलोमिटर वरपर धारागोला भ्यूटावर, जरेबर, ठुटेबर, गौडालगायतको पहिल्यैदेखिका प्रख्यात पर्यटकीयस्थल रहेका कारण पुलमा आउने पर्यटक आगामी दिनमा झनै बढ्ने सम्भावना रहेको वडा नं ६ का अध्यक्ष शिवराज पौडेल बताउछन् ।

काठमाडौँको थानीरजगदम्बा जेभीले निर्माण गरेको उक्त झोलुङ्गे पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको छ । स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजनको शिलालेखमा पुलले एकपटकमा ६४७ पदयात्रीको भार थेग्ने क्षमता राख्ने उल्लेख छ ।

पर्यटकको भीड बढ्दै जाँदा पुल हल्लिएर पदयात्री तर्सिने र दुर्घटना निम्तिन सक्नेतर्फ समेत ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ । पालिकाले पुलमा आउजाउ गर्ने पर्यटकको भीडको रेखदेख र अनुगमन गर्नका लागि सुरक्षागार्डको व्यवस्था मिलाउनुपर्ने झापाको कचनकबल–४ बाट पुल हेर्न आएकी १७ वर्षीया जसोदा राजवंशीले सुझाव दिइन् ।