काठमाडौं । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार ८७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए ।
अनुमान अनुसारको आँकडा नभए पनि कोभिडको कारण शिथिल भएको देशको पर्यटन क्षेत्र लयमा फर्किएको सङ्केत देखिएको छ ।
मार्च महिनामा सबैभन्दा बढी एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अक्टोबरमा एक लाख २४ हजार ३९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक नेपाल आएका थिए ।
डिसेम्बरमा ८९ हजार सात सय ६५, नोभेम्बरमा एक लाख १४ हजार ५०१, सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१० पर्यटक नेपाल आएका थिए ।