२०८१ पौष १९, शुक्रवार , ०८:३१:३५ बजे

Sajhamanch
'

मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको संख्या ८०१ जना ! नयाँ परिचयपत्र ६७९ वटा र नविकरण १२२ वटा परिचय पत्र वितरण

मङ्गलवार, पौष १६, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकामा सञ्चालन गरिएको अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण सम्बन्धी १६ दिवसीय शिविर आज सम्पन्न गरिएको छ ।

उक्त शिविरबाट एक हजार ६६७ जना अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिएको नगरपालिकाले तथ्याङ्क दिएको छ । मेचीनगर–१ देखि १५ नम्बर वडाका एक हजार ६२४ जनाले पुष १ गतेदेखि १५ गतेसम्म र छुट भएकाहरुको आज १६ गते नगरपालिकामा आयोजित शिविरमा ४३ जनाले उक्त सेवा लिएका नगरपालिकाका प्रेस संयोजक युवराज आचार्यले जनाएका हुन् ।

स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रममा एक हजार ४२५ जना अपाङ्गता भएका व्यक्ति सहभागी थिए । जसमा बालबालिका २३४, वयस्क १ हजार १९१ तथा पुरुष ८३४ र महिला ५९१ जनाले सुविधा लिएका हुन् ।

शिविरमा ८०१ जनालाई परिचय पत्र वितरण गरिएको थियो । जसमा ६७९ वटा नयाँ परिचय पत्र र १२२ वटा परिचय पत्र नविकरण गरिएको हो ।

शिविरमा वितरण गरिएको १ हजार २७३ वटा परिचय पत्रमध्ये ३२५ जनालाई रातो कार्ड, ४७२ जनालाई निलो कार्ड, ४०८ जनालाई पहेँलो कार्ड र ६८ जनालाई सेतो कार्ड वितरण गरिएको हो ।

आज मंगलबारसम्म चलेको उक्त शिविरको समापन शत्रमा बोल्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अपाङ्गताको क्षेत्रमा पहिलो चरणको कार्यक्रम अन्तर्गत मेचीनगरले सञ्चालन गरेको अपाङ्गता लक्षित स्वास्थ्य परीक्षण, पहिचान र परिचय पत्र वितरण कार्यक्रम प्रभावकारी बनेको दावी गरे ।

आफ्नो मन्तब्यमा बुढाथोकीले शारीरिक अशक्त एवम् अपांगता भएको मानिसहरुका लागि नगरपालिकाले विशेष कार्यक्रम मार्फत सेवा प्रदान गरिरहने पनि बताएका छन् ।

राज्यले प्रदान गर्ने सेवा सुविधा र आफ्नो हक अधिकार के हो ? भन्ने समेत धेरै अपाङ्गता भएका मानिसहरुलाई थाहा नभएको अवस्थामा यस शिविरले उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी गराउनुका साथै अपाङ्गता पहिचान गर्न सहयोग पुर्याएको उनको भनाई छ ।

यसले अब अपाङ्गता भएका मानिस होस् वा उनीहरुको परिवार सबैलाई राज्यले प्रदान गर्ने सेवा लिन मद्दत पुगेको नगरप्रमुख बुढाथोकीले बताए ।

अप्ठेरो जीवन बिताइरहेकाहरुसँग सहकार्य गर्ने मौका मिलेको छ’ प्रमुख बुढाथोकीले– ‘गरिवी, अभाव र समाजमा अपहेलित भएर बसेकाहरुलाई घृणा होइन, माया गर्नुपर्छ । अहिले राज्यले पनि उहाँहरुलाई खोज्न थालेको छ ।

कार्यक्रमको अध्यक्षता गरेकी नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले यस्तो शिविर सञ्चालन गर्नु चानचुने कुरा नभएको बताइन् । उनका अनुसार अभियान सफल भएको छ ।

दुई कार्यकालको अनुभव बटुलिरहेकी उपप्रमुख उप्रेतीले लगभग ८ वर्षमा भौतिक पूर्वाधारको विकासमा भन्दा पनि अहिले मानवीय सेवामा काम गर्न पाउँदा खुशीबोध भएको बताइन् ।

नगरपालिकाले अब चाँडै कार्यविधि संशोधन गरेर चिल्लो बाटो बनाउनुभन्दा यस्ता मानवीय सेवाको काममा बजेट राख्ने दावी गरिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सरकारले जनताको घरघरमा गएर यस्तो सेवा दिँदा सबैको सहयोग रहेकोले अभियान सफल भइरहेको बताए । उनले हाल शिविर मात्र सम्पन्न भएकोमा अब क्रमशः अन्य कार्यक्रमहरु पनि अघि बढ्ने जानकारी गराए ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबीच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ । जारी अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ ।

कार्यक्रममा मेचीनगर–२ का वडाध्यक्ष दीपक बराल लगायतले अभियान सफल भएको बताए । कार्यक्रम सफल पार्न खटिएका विशेषज्ञ डाक्टरहरु सहितको ५६ जना कर्मचारीहरुलाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

नगरपालिकाका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले शाब्दिक स्वागत गरेको कार्यक्रमको सहजीकरण शिविर सञ्चालनको साझेदार संस्था करूणा फाउन्डेसन नेपालका मेचीनगर संयोजक पदम बराईलीले गरेका थिए ।

सम्बन्धित खबर