२०८१ पौष १९, शुक्रवार , ०७:४६:०१ बजे

Sajhamanch
'

जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्टमा कीर्तिमानै कीर्तिमान

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्ट क्रिकेटमा कीर्तिमानको ओइरो लागेको छ । बुलावायोको क्वीन्स स्पोर्ट्स क्लबमा भएको खेल बराबरीमा सकिएको थियो ।

अफगानिस्तानको पहिलो पारीमा ६९९ र घरेलु टोली जिम्बावेले पहिलो पारीमा ५८६ र दोस्रो पारीमा ४ विकेट गुमाएर १४२ रन बनाउँदा खेल बराबरीमा सकिएको हो । बुलावायोमा अफगानिस्तानले बनाएको ६९९ रन टेस्ट क्रिकेटमा उसको सर्वाधिक योगफल हो ।

यस्तै अफगानिस्तान सबैभन्दा कम खेल खेलेर टेस्ट क्रिकेटको एउटै पारीमा ६ सय रन बनाउने टोली बनेको छ । सन् २०१८ मा पहिलो टेस्ट खेलेको अफगानिस्तानले १० औं खेलमा यो उपलब्धि हासिल गरेको हो ।

हशमतुल्लाह शाहिदीले बनाएको २४६ रन अफगानिस्तानका लागि सर्वाधिक व्यक्तिगत योगफल हो । हशमतुल्लाहको यो दोस्रो शतक हो ।

यस्तै दोहोरो शतक बनाएका अफगानिस्तानकै अर्का ब्याटर रहमत शाहले पनि कीर्तिमान बनाएका छन् । उनी टेस्ट क्रिकेटमा पहिलो दुई शतकलाई दोहोरो शतकमा परिणत गर्ने पाँचौं खेलाडी बनेका छन् ।

यसअघि इङ्ग्ल्यान्डका वाली हमोन्ड, वेस्ट इन्डिजका रोहन कान्हाई, पाकिस्तानका जहीर अब्बास र भारता विनोद काम्ब्लीले यो उपलब्धि हासिल गरेका थिए ।

खेलको तेस्रो दिन ९५ ओभर ब्याटिङ गरेका रहमत र शाहिदी एकैदिनको खेलमा सबैभन्दा धेरै ओभर खेल्ने तेस्रो जोडी बनेका छन् । यस्तै जिम्बावेले बनाएको ५ सय ८६ रन टेस्ट क्रिकेटमा उसको सर्वाधिक योगफल हो ।

यस्तै एउटै टेस्टमा दुवै टोलीले आफ्नो सर्वाधिक योगफल बनाउने दुलर्भ कीर्तिमान पनि बनेको छ । रहमत र शाहिदीबीच तेस्रो विकेटका लागि भएको ३ ६४ रनको साझेदारी अफगानिस्तानका लागि टेस्ट क्रिकेटमा कुनै पनि विकेटका लािग सबैभन्दा धेरै रनको साझेदारी हो र यो जिम्बावेसँगको टेस्टमा कुनै पनि विकेटको लागि भएको दोस्रो ठूलो साझेदारी पनि हो ।

यस्तै जिम्बावेका २१ वर्ष ४६ दिनका ब्रायन बेनेट बुलावायोमा टेस्ट क्रिकेटमा शतक बनाउने र पाँच विकेट लिने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । बेनेट जिम्बावेका लागि टेस्टमा शतक र पाँच विकेट लिने दोस्रो खेलाडी पनि बनेका छन् ।