२०८१ पौष १८, बिहिवार , ०४:०३:२८ बजे

Sajhamanch
'

यो वर्ष झन्डै साढे ११ लाख पर्यटक नेपाल भित्रिए

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । यो वर्ष सन् २०२४ मा ११ लाख ४० हजार जनाभन्दा धेरै पर्यटकले नेपाल भ्रमण गरेका छन् । आजसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेले दैनिक सरदर तीन हजार जना पर्यटक भ्रमणमा आएका बताउँदै अघिल्लो वर्ष सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा धेरैले पर्यटक आगमन बढेको जानकारी दिए।

सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (यूएनडब्लुटीओ) को पछिल्लो ६ महिनाको तथ्याङ्कानुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।