२०८१ पौष १७, बुधवार , ०४:१४:५१ बजे

Sajhamanch
'

लक्ष्मी बहुउद्देश्यीय सहकारीले साढे १२ प्रतिशत शेयर बोनस बाँड्ने

आइतवार, पौष १४, २०८१

बिर्तामोड । यहाँस्थित लक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष लिलाबहादुर बस्नेतको अध्यक्षता तथा पूर्वअध्यक्ष चन्द्रकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा गरिएको हो ।

साधारणसभाको पहिलो सत्रमा अध्यक्ष बस्नेत, सचिव सन्देश मल्ल र लेखा सुपरीवेक्षण समितिका संयोजक रोशन दाहालले संस्थाका विभिन्न विषयमा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संंस्थाका अध्यक्ष बस्नेतले प्रस्तुत गरेको पहिलो प्रतिवेदन अनुसार लक्ष्मी बहुउद्देश्यीय सहकारीको शेयर सदस्य संख्या ३ हजार १७ जना रहेका छन् भने उनीहरुबाट ३ करोड २२ लाख ६२ हजार २०० रूपैयाँ शेयर पूँजी संकलन भएको उल्लेख छ ।

संस्थामा गत असार मसान्तमा ३५ करोड ४८ लाख ९८ हजार ५९४ रूपैयाँ निक्षेप बचत रहेको छ भने सदस्यहरुमाझ संस्थाले ३३ करोड ६३ लाख ९७ हजार ६०८ रूपैयाँ ऋण लगानी गरेको छ ।

संस्थाले समीक्षा वर्षमा ५ करोड ४२ लाख ४० हजार ४६० रूपैयाँ आम्दानी गरी ४ करोड २२ लाख ४७ हजार ७० रूपैयाँ खर्च गरी कर व्यवस्था अघि १ करोड १९ लाख ९३ हजार ८८९ रूपैयाँ खुद बचत गरेको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभा समारोहमा प्रमुख अतिथि राजभण्डारीले लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको स्थापनाको पृष्ठभूमि स्मरण गर्दै ब्यापारीहरुले नेतृत्व गरेको संस्था आर्थिक रुपमा बिग्रँदैन, ढुक्क रहनुस् भनी निक्षेपकर्ता सदस्यहरुलाई आश्वस्त पारे ।

सो कार्यक्रममा प्रशिक्षणमुलक मन्तब्य राख्दै बिर्तामोड नगरपालिकाका पूर्व सहकारी अधिकृत डिल्ली दाहालले समीक्षा वर्षमा १२ दशमलव ५ प्रतिशत शेयर बोनस बाँड्न प्रस्ताव गर्ने लक्ष्मी बहुउद्देश्यीय मात्र रहेको आफूले पाएको बताए ।

सहकारी संस्थामा नियमितरुपमा बचत र ऋणको कारोबार गर्ने सदस्यहरुले पाउने संरक्षित पूँजी फिर्ता कोषको रकम जोड्दा लक्ष्मी बहुउद्देश्यीयबाट यसका सदस्यहरुले १९ प्रतिशत बोनस पाउने अवस्था बन्नु अत्यन्त राम्रो पक्ष भएको बताए । तर सदस्यहरुमाझ बाँकी रहेको कर्जाको ब्याजसमेत असुल भएको भए यो अंक २५ प्रतिशतसम्म पुग्नेमा सो हुन नसक्नु दु:खद भएको जनाए ।

हिजोआज सहकारी संस्थाहरु धरासयी बन्नुमा कोभिड १९ पछिको आर्थिक मन्दी, २० लाख रुपैयाँसम्मको ऋण मिनाहा हुन्छ भन्ने अफवाह, अत्याधिक तरलता मौज्दात रहनु लगायत भएको दाहालको भनाई छ ।

लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बाहुय ऋण शून्य हुनु अत्यन्त राम्रो पक्ष औंल्याउँदै सहकारी प्रशिक्षक दाहालले बहुउद्देश्यीय सहकारी संस्था बचत तथा ऋणको कारोबारमा मात्र सिमित हुनु नराम्रो पक्ष भनी सच्याउन सुझाव दिए ।

साधारणसभाको उद्घाटन समारोहमा संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा कार्यालय सहायक मनिष कट्टेल र बजार प्रतिनिधि गीता न्यौपानेलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ ।

यसैगरी उत्कृष्ट बचतकर्ता प्रयत्न शाक्य, भीमबहादुर लिङ्देन, दाताराम मैनाली, सुनिल खरेल, चरणसिंह राजवंशी, गोपालकृष्ण अग्रवाल, सरोज अधिकारी, गीतादेवी ढकाललाई सम्मान गरियो ।

त्यस्तै असल ऋणी सुजता बुढाथोकी, भिम खरेल, मित्रकुमार मगर, अम्बिका तामाङ, टीकाप्रसाद मिश्रलाई सम्मान गरिएको थियो ।

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक रोशन दाहालले सञ्चालन गरेको सो साधारणसभा समारोहमा सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ, स्वरोजगार भवानी साकोसका अध्यक्ष तथा झापा जिल्ला सहकारी संघका सदस्य केशव बस्नेत, संस्थापक सचिव तथा पूर्व अध्यक्ष डा. रूपकप्रसाद खनाल लगायतले आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा आमन्त्रित अतिथि एवम् सदस्यहरुलाई संस्थाका उपाध्यक्ष भगिरथ पोद्दारले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर